सरकारले सुन र चाँदीको भन्सार दर घटाएको छ।
मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकले सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत थियो।
अर्थमन्त्री वर्षमान पुनले अघिल्लो बजेटमार्फत बढाएको सुनको भन्सार दरलाई पुनः १० प्रतिशतमा ल्याइएको हो। पछिल्लो समय भारतले सुनको भन्सार दर घटाएपछि नेपालमा पनि दर घटाउन दबाब बढ्दै आएको थियो।
भन्सार दर उच्च हुँदा सुनचाँदीको तस्करी बढेको पाइएको थियो। सरकारले भन्सार दर घटाउने निर्णय भन्सार विभागमा पठाइसकेको छ। यो निर्णय भोलिदेखि लागू हुने छ, जसका कारण आयात हुने सुन र चाँदीको मूल्यमा कमी आउने अपेक्षा गरिएको छ।यसअघि सुनमा तोलामा २९ हजार रुपैयाँ भन्सार महसुल लाग्दै आएकोमा अब १४ हजार रुपैयाँ मात्रै लाग्नेछ। यसले गर्दा सुनको मूल्य झण्डै १५ हजार रुपैयाँले घट्ने अनुमान गरिएको छ।
सरकारको यो कदमले नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता ल्याउनुका साथै तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।बजारमा सुनको तस्करी बढेको आशंकालाई सुनको आयातको घटिरहेको तथ्यांकले पनि पुष्टि गर्छ। चालू आर्थिक वर्षको पहिलो चार महीना (साउन–कात्तिक) मा सुनको आयात १३२ किलो हाराहारीमा सीमित छ। गत वर्षको यही अवधिमा एक हजार किलो सुन आयात भएको थियाे।

