काठमाण्डौं। इलामको सूर्योदय नगरपालिका–२ चार माइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
पक्राउ पर्नेहरू भारतको हिमाञ्चल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो।
परीक्षणका क्रममा ती गहनामा सुनचाँदीको जलप लगाएको पुष्टि भएको थापाले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ ।

