काठमाडौं, असार ५ — सरकारसँगका मागहरु पुरा नभएसम्म आन्दोलन जारी राखिने भन्दै “नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति”ले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा जारी रिले अनसन अझ सशक्त ढंगले अगाडि बढाउने घोषणा गरेको छ।
समितिका अनुसार हाल भइरहेको रिले अनसन केही दिनभित्र आमरण अनसनमा परिणत गरिनेछ। संघर्ष समितिले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी व्यवसायमा लगाइएको २% विलासिता कर र हीरा–रत्न जडित गरगहनामा लगाइएको १३% भ्याट खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। समितिको भनाइ अनुसार, कर नीति व्यवसायीमात्र नभई आम उपभोक्ता र यो व्यवसायसँग प्रत्यक्ष र परोक्षरुपमा आबद्ध हजारौँ कालिगढ, कर्मचारी तथा परिवारको जीविकोपार्जनमा समेत गम्भीर असर पार्ने खालको छ।
संघर्ष समितिले सबै व्यवसायी, कालिगढ, कर्मचारी र उपभोक्ताहरुलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन र अनसन स्थलमा उपस्थित भएर साथ दिन अपिल गरेको छ। समितिका प्रतिनिधिहरूले सरकारसँगको संवादमा गम्भीरता नदेखिएको र माग सम्बोधन गर्न चासो नदिएको गुनासो गरेका छन्।
समितिका संयोजकले भने, “यो केवल करको कुरा होइन, हजारौँ नेपालीको जीवन र रोजगारको विषय हो। हामी माग पुरा नभएसम्म पछि हट्दैनौं।” आन्दोलनको भावी चरणमा आम हड्ताल र जनस्तरको दबाब पनि सिर्जना गरिने चेतावनी समितिले दिएको छ।
सरकारले यसबारे हालसम्म ठोस निर्णय लिएको छैन।

