महोत्तरी । मटिहानीको मुख्य पहिचान नै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र भएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् । नगरको पहिचानका लागि, विकासका मूल फुटाउनका लागि आफू दत्तचित्त भएर लाग्ने उनले उल्लेख गरे। बुधबार नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख मण्डलले यस्तो उद्घोष गरेका हुन् ।
उनले नीति, कार्यक्रम तथा बजेटमा मटिहानी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन नगरभित्रका मठ मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माणलगायत थप संस्कृति झल्काउने भौतिक पूर्वाधार विकास गरिने बताए।
त्यसैगरी उनले कृषि तथा पशुपालनको क्षेत्रमा थप योजनासहित यस क्षेत्रको विकासमा निरन्तरता, व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागिता लगायतमा काम गर्ने बताए ।
कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने उनले प्रतिवद्धता दोहोर्याए ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बुधबार सम्पन्न नगरसभाबाट मेयर मण्डलले उद्योग वाणिज्यतर्फ विभिन्न तालिम तथा व्यवसाय सञ्चालनमा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गरे।
आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको प्रवर्धनका लागि नगरपालिकाका कर्मचारीहरूलाई आर्थिक सुविधा सहित १० दिनको पर्यटन काज दिने व्यवस्था मिलाइने, नगरभित्रका सामुदायिक विद्यालयको कक्षा एकदेखि आठसम्मको पाठ्यक्रममा सय अंकको मैथिली भाषा समावेश गरी अध्ययन गराइने व्यवस्था मिलाइने बताए।
त्यसैगरी विद्यार्थीको सूचना प्रविधिमा पहुँच पुर्याउन जोडकोषमा आधारित ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई नि:शुल्क साइकल वितरण, दलित, विपन्न, गरिब, अपांग, असहाय तथा सहिद परिवारका जेहेनदार विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति पुरस्कार सहयोगको व्यवस्था गरिने नगरप्रमुखले नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ।
गर्भवतीका लागि अल्ट्रासाउन्ड निःशुल्क गरिनुका साथै आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको विकास गरिने उल्लेख छ। समावेशीकरण/गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम, संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रम लगायतमा आवश्यक बजेट तथा योजना सञ्चालन गरिने मेयर मण्डलले उल्लेख गरे।
महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ ।
नगरसभामा नगरपालिकाले ४४ करोड ५० लाख बजेट सार्वजनिक गरेको छ। बुधबार नगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रममा ४४ करोड ५० लाखको बजेट प्रस्तुत गरेका हुन् ।
राजस्व बाँडफाँडतर्फ १० करोड ५ लाख, संघीय सरकार तर्फको २८ करोड १० लाख, प्रदेश सरकारको १ करोड २६ लाख र आन्तरिक स्रोतबाट जम्मा ५ करोड ९० गरी कुल ४४ करोड ५० लाखको बजेट नगरप्रमुख मण्डलले प्रस्तुत गरेका हुन् ।

