काठमाडौं, जेठ २५
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी र हिराका गहनामा प्रस्ताव गरेको नयाँ कर संरचनाको विरोधमा काठमाडौंको न्युरोडमा हिजो(आइतबार) सुनचाँदी व्यवसायीहरू तथा कालीगढहरु आन्दोलित बने।
सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा हजारौं व्यवसायी, कालिगढ, कर्मचारी र उपभोक्ताहरूको सहभागिता देखिएको थियो। उनीहरूले बजेटमा उल्लेख गरिएअनुसार सुनका गहनामा २ प्रतिशत ‘विलासी कर’ अनिवार्य रूपमा लगाउने र हिराका गहनालाई भ्याट प्रणालीमा ल्याउने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।
व्यवस्था फिर्ता गरिनुपर्ने माग
प्रदर्शनकारीहरूको मुख्य माग भनेको दुवै व्यवस्था—सुनका गहनामा लाग्ने २ प्रतिशत विलासी कर र हिरा, जुवाहरत तथा बहुमूल्य पत्थरमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)—तत्काल फिर्ता गरिनु पर्ने हो।
संघर्ष समितिका प्रतिनिधिहरूले भने, “यी करहरूले व्यवसाय धरापमा पर्नेछ, उपभोक्ता मर्कामा पर्नेछ, र कालिगढहरूको रोजगारीमा पनि संकट आउनेछ। सरकार व्यवसाय र उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्नुपर्नेमा उल्टो दबाब सिर्जना गरिरहेको छ।”
व्यवसायीमैत्री नीति ल्याउन आग्रह
प्रदर्शनमा सहभागीहरूले कालिगढ, कर्मचारी, उपभोक्ता र व्यवसायीमैत्री ऐन तथा नीति तुरून्त सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार सरकारको एकपक्षीय निर्णयले हजारौं परिवारको जीविकोपार्जन प्रभावित हुने खतरा छ।
र्यालीमा सहभागीहरूले ‘विलासी कर खारेज गर’, ‘हिरामा भ्याट लाद्न पाइँदैन’, ‘व्यवसायीमाथि अन्याय बन्द गर’ भन्ने जस्ता नारासहित प्रदर्शन गरेका थिए।
संयुक्त संघर्षको चेतावनी
संघर्ष समितिले यदि सरकार गम्भीर नभए थप चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। “हामी व्यवसायीहरू राष्ट्रको आर्थिक योगदानकर्ता हौं। हामीलाई दबाएर होइन, सुनेर नीति बनाउनुपर्छ,” उनीहरूले बताएका छन्।
प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भएको थियोे । व्यवसायीहरूले आगामी दिनहरूमा सरकारसँग वार्ता र दबाब दुवैमार्फत माग पुरा गराउने तयारी गरेको जनाएका छन्।

