काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो। यसअघि पुस १३ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै २ लाख ७० हजार ६ सय रुपैयाँको रेकर्ड कायम गरेको थियो। त्यसपछि केही घटेको सुन अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा बढेपछि फेरि उकालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै मूल्यमा आएको वृद्धिको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। अघिल्लो दिन मात्रै नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १९५ रुपैयाँले बढ्दै ४ हजार ८८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँ थियो।

