काठमाडौँ । राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। तीमध्ये १८ सिटका लागि आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुने निर्वाचन आयोगले मिति तोकेको छ। बाँकी एक सांसद भने राष्ट्रपतिबाट मनोनित गरिनेछ।
आगामी फागुन २० गतेदेखि नेकपा एमालेका आठ, तत्कालीन नेकपाका आठ, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक र एक मनोनित सांसदको पदावधि समाप्त हुन लागेको हो। पदावधि सकिन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन्।
कार्यकाल पूरा गरी बिदा हुन लागेका तत्कालीन नेकपाका सांसदमा नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल रहेका छन्। भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।
यस्तै, एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको पनि कार्यकाल सकिन लागेको छ।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पदावधि पनि फागुनमा समाप्त हुँदैछ।
सरकारले माघ ११ गते आइतबारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकेको छ। राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन आयोगको कार्यतालिकाअनुसार भोलि (बुधबार) उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक व्यवस्था छ। हाल कार्यकाल सकिन लागेका सांसदमा नेपाली कांग्रेसका कुनै पनि सदस्य छैनन्। तर कांग्रेस हाल राष्ट्रिय सभामा मतभारका हिसाबले सबैभन्दा अगाडि रहेको छ।
यसैबीच कांग्रेस, एमाले र नेकपालगायत दलहरूबीच सिट बाँडफाँट गरेर १८ सिटमा प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ। कांग्रेसले रिक्त १८ सिटमध्ये ७ सिटमा दाबी गर्दै एमाले र नेकपासँग सहकार्यको प्रस्ताव गरेको छ। कांग्रेसले एमालेलाई ६, नेकपालाई ४ र उपेन्द्र यादव नेतृत्वको जसपालाई १ सिट दिने प्रस्ताव अघि सारेको छ।
गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। पछिल्लो समय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकलगायत शीर्ष नेताहरू एमाले र नेकपासँग चुनावी तालमेलका लागि सक्रिय छन्।

