काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य तोलाको ५ हजार ९२० रुपैयाँ पुगेको छ।
मङ्गलबार एक तोला छापावाल सुन २ लाख ८४ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो भने चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ थियो।
यसअघि आइतबार सुन २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँ मा कारोबार भएको थियो।
सोमबार सुनको मूल्य बढेर २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७४० अमेरिकी डलर तथा चाँदी ९५ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीप्रति माग बढ्दा मूल्य उकालो लागेको हो।

