काठमाण्डौ । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ खण्ड) मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
आज दिउँसो पाल्पाको जोगिथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र, रिडी पठाइएको र उपचारका क्रममा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारु ले जानकारी दिए। उनका अनुसार कुमालको टाउकोमा गम्भीर चोट लागेको थियो।
अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

