काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यही माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बुधबार बसेको बैठकले सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले माघ १६ गते लैनचौरस्थित सहिद स्मारक पार्कमा ज्ञात–अज्ञात सबै सहिदहरूको स्मृतिमा विशेष स्मृतिसभा गर्ने निर्णय गरेको छ। नागरिक स्वतन्त्रताका लागि सहादत प्राप्त गर्ने सहिदहरूको सम्मानमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ।
माघ १० गते टेकु मचली, माघ १३ गते सिफल उकालो र माघ १५ गते शोभा भगवतीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने महानगरपालिकाले बताएको छ । माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी सुरु भई लैनचौर पुगेर सहिद स्तम्भमा स्मृतिसभा आयोजना गरिने छ। सो अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी कार्यक्रम हुने स्थानसँग सम्बन्धित वडालाई दिइएको छ।
वि.सं. १९९७ माघ ७ गते नागरिक स्वतन्त्रताको पक्षमा आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधानलाई सर्वस्वसहित मृत्युदण्डको फैसला सुनाइएको थियो। पछि पूर्णनारायण प्रधानको सजाय आजीवन कैदमा परिवर्तन गरिएको थियो।
शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालोमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। त्यसैगरी माघ १५ गते शोभा भगवती किनारामा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानी हत्या गरिएको थियो।
सहिदहरूको सपना र बलिदानको स्मरणमा प्रत्येक वर्ष सहिद दिवस तथा सहिद सप्ताह मनाइँदै आएको छ।

