काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भू–भागमा मौसममा सामान्य परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।
हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही क्षेत्रमा भने बिहानैदेखि तुवालो लागेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
महाशाखाले हुस्सु र कुहिरोका कारण तराईका विभिन्न विमानस्थलमा ‘भिजिबिलिटी’ घट्न सक्ने भन्दै हवाई उडानमा ढिलाइ हुन सक्ने चेतावनी दिएको छ। साथै लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

