काठमाडौँ । अमेरिकाले थप ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएका सबै नेपाली चाटर्ड विमानमार्फत बुधबार काठमाडौँ आइपुगेका हुन्।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्लो चरणमा ९० जना नेपाली डिपोर्ट भएको जानकारी दिँदै अहिलेसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ४०० नाघिसकेको बताए।
विभागका अनुसार कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अध्यागमन कानुन उल्लङ्घन गरेका नेपाली नागरिकलाई अमेरिकाले डिपोर्ट गरेको हो।
डिपोर्ट भई आएका व्यक्तिमाथि हाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। ब्यूरोले मानव बेचबिखनमा परेका भए उजुरी दिन आग्रह गरेको छ। आवश्यक अनुसन्धानपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने जनाइएको छ ।

