काठमाडौं, असार २० – नेपाल सुनचाँदी कला व्यवसायी संघको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा आज भव्य विरोध प्रदर्शन सम्पन्न भएको छ। सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर तथा हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा गरिएको यस प्रदर्शनमा उपत्यका र विभिन्न जिल्लाबाट आएका हजारौं सुनचाँदी व्यवसायी, कालिगढ र श्रमिकहरूको सहभागिता रहेको थियो।
विरोध प्रदर्शनमा व्यवसायीहरूले ‘हामी कर होइन, न्याय माग्दैछौं’, ‘विलासिता कर खारेज गर’, ‘हामी कलाकार हौं, तस्कर होइनौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर माइतीघरदेखि बानेश्वर सम्म प्रदर्शन गरेका थिए। कार्यक्रममा विभिन्न व्यवसायी संगठनका नेताहरूले मन्तव्य दिँदै करको भारले साना तथा परम्परागत व्यवसाय धराशायी बन्ने खतरा रहेको बताएका थिए।
नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्षले सम्बोधन गर्दै भने, “हामी करको विरोधी होइनौं, तर हामीमाथि गरिएको असमान र अन्यायपूर्ण कर व्यवस्थाको विरोध गर्दैछौं। यो कर प्रणालीले देशभरका लाखौं श्रमिक र कलाकारको रोजगारी खोस्ने खतरा देखिएको छ।”
प्रदर्शनमा सहभागी व्यवसायीहरूले कर फिर्ता नभएसम्म आन्दोलनलाई आन्दोलनको अर्को चरणतर्फ लैजाने चेतावनीसमेत दिएका छन्। उनीहरूले सरकारलाई तत्काल वार्तामा बोलाएर समाधान खोज्न आग्रह गरेका छन्।
सुनचाँदी व्यवसायीहरूको यो संघर्ष पछिल्ला केही महिनादेखि चरणबद्धरूपमा भइरहेको छ। यसअघि पनि संघीय राजधानीसहित ललितपुर, भक्तपुर, पोखरा, बुटवल, विराटनगर लगायतका सहरहरूमा विरोध र्याली र कोणसभा गरिएका थिए।
आजको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने आगामी दिनमा अझ ठूला प्रदर्शन र सरकारलाई दबाब दिने कार्यक्रमहरू घोषणा गर्ने तयारी भइरहेको संघले टपटेन खबरलाई जनाएको छ।

