काठमाडौं,
असार २ — नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा सोमबार काठमाडौंको न्युरोड क्षेत्र विशाल जनसागरमा परिणत हुने भएको छ। सरकारद्वारा बजेटमा सुनचाँदी क्षेत्रमा लगाइएको ‘विलासी कर’ विरुद्ध देशैभरका व्यवसायी र कालिगढहरू राजधानीमा भेला भएका छन्।
संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामु (विपीन) का अनुसार, “व्यवसाय बचाऔं, काठमाडौं जाऔं” भन्ने मूल नारा बोकेर देशका कुना–कुनाबाट व्यवसायी काठमाडौं आइपुगेका छन्। आइतबार साँझसम्म राजधानीमा १० हजारभन्दा बढी व्यवसायी आइसकेको जनाइएको छ।
विरोधको कारण सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनमा २ प्रतिशत विलासी कर र हिरा, जुवाहरत तथा बहुमूल्य रत्नमा १३ प्रतिशत कर लगाउने निर्णय हो। यो निर्णयले व्यवसाय चौपट बनाउने भन्दै व्यवसायीहरू आन्दोलित छन्।
संघर्ष समितिका सचिव टंक बराईलीका अनुसार, “हामीले शान्तिपूर्ण ढंगले ध्यानाकर्षण गराउँदै आएका छौं। अहिले हामी सशक्त ऐक्यवद्धतासहित सडकमा छौं। सरकार गम्भीर नबने, आन्दोलन थप चर्किन्छ।”
संघर्ष समितिका सदस्य शिव कुमार सर्राफले आन्दोलनमा न्युरोड क्षेत्र भरिने गरी कम्तीमा १० हजार व्यवसायी सहभागि हुने जानकारी दिनुभयो। राजधानीका विभिन्न संघसंस्थाहरूले पनि ऐक्यवद्धता जनाइसकेका छन्।
नेपाल राष्ट्रिय कालिगढ संघका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माका अनुसार, “सुनचाँदी पेशा विलासी होइन, यो हजारौं नेपालीको जीवनयापनको आधार हो। सरकारले यो पेशा मास्ने निर्णय गर्यो भने हामी चुप लाग्दैनौं।”
कार्यक्रममा काठमाडौंसहित देशभरका कालिगढ, व्यवसायी, महासंघ, संघसंस्थाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। न्युरोड क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ भने स्थानीय व्यापारीहरूले समेत प्रदर्शनप्रति ऐक्यवद्धता जनाएका छन्।
सुनचाँदी व्यवसायीहरूको यो आन्दोलन निकट भविष्यमा अझ उग्र रूप लिन सक्ने संकेत देखिएको छ।

