काठमाडौं — पूर्व उपप्रधानमन्त्री एवं वरिष्ठ नेता उपेन्द्र यादवले नेपालको विकास अवरुद्ध हुनुमा नेताहरूको मानसिकता प्रमुख कारक रहेको बताएका छन्। उनले थाइल्यान्डजस्तो देशमा बारम्बार सरकार परिवर्तन भइरहँदा पनि द्रुत विकास सम्भव भएको उदाहरण दिँदै नेपालमा नेताहरूको सोच बदलिनुपर्ने आवश्यकता औंल्याए।
“नेपालमा प्रधानमन्त्री र मन्त्री राष्ट्रिय हितभन्दा पनि केवल आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधि जस्तो मात्र बन्ने प्रवृत्ति हावी भएको छ,” यादवले भने।
राजनीति अहिले व्यवसायीकरणतर्फ उन्मुख भएको भन्दै उनले यसलाई सेवा–मुखी बनाउनु पर्ने धारणा राखे। “राजनीति लगानी र प्रतिफलको हिसाबजस्तो हुँदै गएको छ,” उनले भने, “अब यो पेशा होइन, सेवा हो भन्ने भावना जागृत गराउन निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ।”
समानुपातिक प्रणालीको सन्दर्भमा यादवले हालको संरचना अपूर्ण रहेको बताए। “बल्ल बल्ल ६०–४० को अनुपातमा समानुपातिक प्रणाली ल्यायौँ, तर त्यसमा पनि उद्योगपति, व्यापारी र नातेदारहरू थुप्रन थाले,” उनले भने, “यसले प्रणालीमै विकृति ल्याएको छ।”
उनका अनुसार विश्वका ७१ देशमा पूर्ण समानुपातिक प्रणाली लागू भइसकेको छ र नेपालमा पनि खर्चरहित, पारदर्शी र निष्पक्ष निर्वाचन प्रणालीको आवश्यकता छ। “दल र उम्मेदवारले करोडौं खर्च गर्नुपर्ने चुनाव प्रणालीलाई फेर्नु जरुरी भइसकेको छ,” यादवले स्पष्ट पारे।
उनले दलीय संकीर्णता हटाई राष्ट्रिय नेतृत्व उत्पादन गर्ने खालको राजनीतिक सोच र प्रणाली निर्माण गर्न आग्रह गरे।

