काठमाडौँ, असार २६ — लामो समयदेखि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरू र सरकारबीच अन्ततः औपचारिक वार्ता सुरू भएको छ।
आ.व. २०८१/८२ को बजेटमार्फत लागू गरिएको कर प्रणालीको विरोधमा रहेका सुनचाँदी व्यवसायीहरूको आवाजलाई सम्बोधन गर्न अर्थ मन्त्रालयमा वार्ताको थालनी गरिएको हो।
उक्त वार्ता पूर्वमन्त्री मीन विश्वकर्मा र पूर्वमन्त्री छविलाल विश्वकर्माको विशेष सहजीकरणमा सुरू गरिएको हो। उनीहरूले दुवै पक्षबीच संवादमार्फत समाधान खोज्न पहल गरेका हुन्।
सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरूले बजेटमा गरिएको कर वृद्धिले व्यवसाय नै संकटमा परेको भन्दै त्यसको खारेजीको माग गर्दै आएका छन्। सरकारले भने कर प्रणाली व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएको छ।
वार्तामा व्यवसायीहरूले आफूहरूका मागहरू स्पष्ट रूपमा राखेका छन् भने सरकारी प्रतिनिधिहरूले तिनलाई गम्भीरतापूर्वक लिएको जनाइएको छ।
वार्ता सकारात्मक दिशामा अघि बढेको र दुवै पक्षबीच सहमतिको सम्भावना देखिएको बताइएको छ। व्यवसायीहरूले वार्ताबाट व्यावहारिक समाधानको अपेक्षा गरेका छन्।
आन्दोलनरत पक्षले भने वार्ताको प्रगति हेरेर आगामी कार्यक्रमबारे निर्णय लिने बताएका छन्।

