काठमण्डौ । थाइल्यान्डले कम्बोडियाको सहर पोइपेट नजिकै रहेको एक रसद केन्द्र (लजिस्टिक्स सेन्टर) मा बम आक्रमण गरेको जनाएको छ। पोइपेट दुई देशबीचको प्रमुख स्थलमार्गमा पर्ने सहर हो, जुन क्यासिनो हबका रूपमा पनि चिनिन्छ।
कम्बोडियाली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै थाई सेनाले बिहीबार पोइपेट नगरपालिका क्षेत्रभित्र दुईवटा बम खसालेको दाबी गरेको छ।
बीबीसीका अनुसार थाई वायु सेनाका प्रवक्ता एयर मार्सल ज्याकक्रिट थम्मविचाईले थाई सेनाले पोइपेट बाहिरको एक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्। उनका अनुसार उक्त स्थानमा बीएम–२१ रकेट भण्डारण गरिएको थियो र आक्रमणबाट कुनै पनि नागरिकलाई क्षति पुगेको छैन।
अधिकारीहरूका अनुसार यस महिनादेखि द्वन्द्व पुनः चर्किएयता थाइल्यान्डमा कम्तीमा २१ जना र कम्बोडियामा १७ जनाको ज्यान गएको छ। द्वन्द्वका कारण करिब आठ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।

