काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार अमेरिकी डलर जरिवाना गरेको छ। एसियाकप छनोट प्रतियोगिताको तेस्रो चरणअन्तर्गत मलेसियाविरुद्धको खेलमा मैदान प्रवेशमा ढिलाइ गरेको आरोपमा एन्फामाथि कारबाही गरिएको हो।
गत नोभेम्बर १८ मा मलेसियामा भएको उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो। बुकिट जलिलस्थित नेसनल स्टेडियममा भएको खेलमा नेपालले खेल सुरु हुनुअघि मैदानमा प्रवेश गर्न एक मिनेट ३० सेकेन्ड ढिलाइ गरेको एएफसीले जनाएको छ।
उही कारण देखाउँदै एएफसीले आयोजक मलेसियालाई पनि दुई हजार पाँच सय अमेरिकी डलर जरिवाना गरेको छ। एएफसीको अनुशासन तथा आचारसंहिता समितिको डिसेम्बर १५ मा बसेको बैठकले दुवै टोलीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।

