काठमाडौँ । काठमाण्डौमा सय्ण्चालित विभिन्न स्पा एवम् होटलमा यौनधन्दा हुने गरेको सार्वजनिक भएकी छ । यौनधन्दामा लगाईएका आठ किशोरीको पाँच स्पा तथा होटलबाट उद्धार गरेपछि यस्तो तथ्य सार्वजनिक भएको हो।
यौनजन्य कार्यमा नाबालिकालाई संलग्न गराएको आरोपमा पाँच जना होटल तथा स्पा सञ्चालकलाई पक्राउ गरिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार अनुसन्धानका क्रममा नाबालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको पुष्टि भएपछि ती सञ्चालकलाई पक्राउ गरिएको हो। सोही क्रममा विभिन्न होटल र स्पाबाट आठ जना किशोरीको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी तथा कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।
काठमाडौँ उपत्यकाका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर, गेष्टहाउस तथा दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौनशोषण र वेश्यावृत्तिमा लगाइँदै आएको सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट ती किशोरीको उद्धार गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

