बबिना गीत ‘विर्सिएर तिमीलाई’ मार्फत गीतकारको रुपमा पनि आफ्ना दर्शक श्रोता माझ आएकी छिन्, हुन त यो भन्दा अघि पनि उनका शब्दमा केहि गीतहरु सार्वजनिक भइसकेका छन् । गीत ‘विर्सिएर तिमीलाई’ ले बबिनालाई सुमधुर स्वर र मधुर संगीतको धुन भर्न सक्ने संगीतकर्मीका साथै राम्रा र मार्मिक शब्द लेख्न सक्ने गीतकारको रुपमा पनि परिचय थपिदिएको छ ।
‘बिर्सिएर तिमीलाई’ गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । गीत म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्ड गरेका हुन् । गीतमा नोभा ठकुरीले गितार र भरत बुढाथोकीले मादलको सुमधुर धुन भरेका छन् । गीत ‘बिर्सिएर तिमीलाई’ को राम्रो भिडियो बनेको छ । भिडियोमा बिना राउत, शिवजी क्षेत्री, नविन लुहागुन लगायतले आफ्नो अभिनय गरेका छन् । कलाकारलाई रोशिना अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् । भक्तपुरको गुण्डुमा शिवजी क्षेत्रीको निर्देशन र कोरियोग्राफीमा सुनिल राउत र समुहले खिचेका गीतको भिडियोको सम्पादन तथा कलर सांग्रिला स्टेशनमा विनोद वमले गरेका छन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा श्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् । गीत ‘बिर्सिएर तिमीलाई’ तिमीलाई पछि विगत केहि वर्ष देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा शिव भजन लिएर आउने गरेकी बबिनाले यस पटकको महाशिवरात्रीको पावन अवसरमा पनि दिनेश खनालको शब्द अनि बबिनाको आफ्नै स्वर तथा संगीतमा शिव भजन केहि दिनमा सार्वजनिक हुने क्रममा रहेको उनले जानकारी दिएकी छिन् ।

