जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड, बागमती प्रदेशमा सबैभन्दा २०८२ असोज १२, काठमाण्डौ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनासम्बन्धी बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार दाबीको सूचना आउने क्रम अझै जारी छ र भौतिक क्षति धेरै भएकाले दाबी संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
हालसम्म प्राधिकरणमा कूल २,९८८ वटा बीमा दाबी आवेदन परेको छ । यसमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेका छन् ।
प्रदेशगत हिसाबले सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशमा परेको छ । सो प्रदेशमा मात्रै १,६०८ वटा आवेदन परेका छन् । यस्तै, कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएका छन् ।
बीमा कम्पनीहरूमा परेको दाबी रकम पनि उच्च छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ४५ करोड ९३ लाख
दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड २४ लाख
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा २ अर्ब ७९ करोड ६६ लाख
शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।
मुलुकभरका १४ वटा निर्जीवन बीमा कम्पनी तथा चार माइक्रो इन्स्योरेन्स कम्पनीमा यस्ता आवेदन परेका छन् ।
बीमा प्राधिकरणले अझै क्षतिको मूल्याङ्कन र दाबी दर्ता जारी रहेको भन्दै आगामी दिनमा बीमा दाबीको परिमाण अझै बढ्ने संकेत गरेको छ ।