काठमाडौँ । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटको फलकमा फेरि एक ऐतिहासिक अध्याय कोरेको छ। युनिटी कप अन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले १९ रनको सानदार जित दर्ता गर्दै विश्व क्रिकेटमा आफ्नो उपस्थितिलाई झनै सशक्त बनाएको छ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रंगशालामा आज भएको खेलमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई लक्ष्य पछ्याउने क्रममा दबाबमा राख्दै १२९ रनमै समेट्यो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो।
वेस्ट इन्डिजका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाउँदा अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रनको योगदान दिए। नेपाली बलिङ आक्रमणका अगाडि वेस्ट इन्डिजका स्टार खेलाडीहरू टिक्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट हात पारे।
त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।
कप्तान रोहित पौडेलले ३५ बलमा तीन चौका र एक छक्का सहित ३८ रन बनाएर टिमलाई उचाइमा पुर्याए। कुशल मल्लले आक्रामक ३० रन (२१ बलमा २ चौका र २ छक्का), गुल्शन झाले २२ रन र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए।
वेस्ट इन्डिजका लागि अनुभवी जेसन होल्डरले ४ विकेट लिए भने नवीन विदायसीले ३ विकेट र कप्तान अकिल होसेनले १ विकेट झारे।
यो खेल नेपाली क्रिकेटका लागि विशेष रह्यो, किनभने नेपालले इतिहासमै पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेलेको हो, त्यो पनि टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा। वेस्ट इन्डिज जस्तो सशक्त टोलीविरुद्धको जीतले नेपाली टोलीलाई ठूलो आत्मविश्वास दिएको छ, जुन अर्को सातादेखि ओमानमा सुरु हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटका लागि महत्वपूर्ण हुनेछ।
नेपाल र वेस्ट इन्डिजबीच दोस्रो टी–२० खेल सोमबार हुने कार्यक्रम छ।