काठमाडौँ —नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सहभागी थिए ।
टोलीले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक पूरा गरोस् भन्ने शुभकामना प्रधानमन्त्री कार्कीलाई व्यक्त गरेको थियो । प्रधानमन्त्री कार्की संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी पदेन संरक्षक पनि हुन् ।
भेटका क्रममा कुलपति शर्माले प्रतिष्ठानको वर्तमान अवस्था र कार्ययोजनाबारे जानकारी गराउँदै गीत, संगीत तथा नाट्य विधाको अध्ययन, अनुसन्धान र संरक्षण राज्यको प्राथमिकतामा नपरेको गुनासो गरिन् । उनले प्रतिष्ठान हाल प्रिफ्याबको अस्थायी टहरामा सञ्चालन भइरहेको उल्लेख गर्दै स्थायी भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजी भइरहेको बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानलाई विशिष्टीकृत गर्दै २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो । तीमध्ये संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि एक हो ।
प्रधानमन्त्री कार्कीले प्रतिष्ठानका विषयमा सम्बन्धित मन्त्रालय तथा अन्य निकायसँग परामर्श गरी आवश्यक पहल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

