काठमाडौं —लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले अल–हद्दादको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रधानमन्त्री दबेइबाका अनुसार जनरल अल–हद्दादसहित पाँच जना सवार फाल्कन–५० विमान मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडान भरेको थियो । उडानपछि विमान दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम क्षेत्रमा फेला परेको टर्कीका अधिकारीहरूलाई उद्धृत गर्दै लिबियाली पक्षले जनाएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
लिबियाली सेनाका प्रमुख रहेका अल–हद्दाद देशको सुरक्षा संयन्त्रमा प्रभावशाली व्यक्तित्व मानिन्थे । उनको आकस्मिक निधनले लिबियाको सैन्य तथा राजनीतिक वृत्तमा शोक छाएको छ ।

