ईश्वर गमाल एक मिठाइँ ब्यबसायी हुन्। काठमाडौं मरुहिटी स्थित श्री गणेश मिठाई भण्डार उनले संचालन गरिरहेका छन्।
यो ब्यबसायको अबस्था र यसका चुनौतिहरुको बारेमा टपटेन खबरका प्रतिनिधि सुधिर कर्मचार्यले लिएको अन्तर्वार्ता ।
प्रश्न १: तपाईंले मिठाई व्यवसाय सुरु गर्ने प्रेरणा के थियो ?
उत्तर: यो व्यवसाय मेरो हजुरबुवाको पालादेखि निरन्तर रूपमा चल्दै आएको पुख्र्यौली पेसा हो। नयाँ रूपमा सुरु गरिएको भन्दा पनि पुस्तौँदेखि चल्दै आएको सीप, अनुभव र परम्परालाई निरन्तरता दिने उद्देश्यले मैले यस व्यवसायलाई अगाडि बढाएको हुँ। हाम्रो परिवारको पहिचान र जीविकोपार्जनसँग जोडिएको यो पेसालाई जोगाएर नयाँ पुस्तासम्म पुर्याउनु नै मेरो मुख्य प्रेरणा हो।
प्रश्न २: व्यवसाय सुरु गर्दा कस्ता चुनौतीहरू सामना गर्नुप¥यो ?
उत्तर: कुनै पनि व्यवसाय चुनौतीबिनाको हुँदैन। मिठाई व्यवसायमा पनि विभिन्न खालका समस्याहरू भोग्नुपरेको छ। कच्चा पदार्थहरू—जस्तै ग्यास, मैदा, चिनी, खुवा आदिको मूल्यवृद्धि, पसल भाडा (बहाल) बढ्नु, दक्ष कामदार (कर्मचारी) को अभाव प्रमुख चुनौती हुन्। यसका साथै नेपालको अस्थिर राजनीतिक अवस्थाले हुने नेपाल बन्द, हडतालजस्ता कारणले दैनिक व्यापारमा घाटा व्यहोर्नुपरेको छ। भूकम्प र त्यसपछिको करिब ६ महिनाको नाका बन्दले कच्चा पदार्थ आपूर्ति अवरुद्ध भयो। पछिल्लो समय कोरोना महामारीले व्यवसायलाई झनै कठिन बनायो। यी सबै चुनौतीहरू पार गर्दै व्यवसायलाई निरन्तरता दिनु पर्यो।
प्रश्न ३: ग्राहकको रोजाइ समयसँगै कसरी परिवर्तन भएको छ ?
उत्तर: समयसँगै ग्राहकको रोजाइमा ठूलो परिवर्तन आएको मैले अनुभव गरेको छु। पहिले गुठी, बिहे–ब्रतबन्ध, जात्रा तथा चाडपर्वमा आवश्यक पर्ने परम्परागत मिठाई र रोटीहरू—जस्तै लाखा, चरा, माछा, भ्यागुता, नागवेल, मह एठ्या भरी, गुलमरी आदि—नयाँ पुस्तालाई थाहा नहुने अवस्था आएको छ। अहिले सजिलो र रेडिमेड सामान प्रयोग गर्ने चलन बढेको छ। परम्परागत संस्कृतिको सट्टा विदेशी शैलीका मिठाई र खानपानतर्फ आकर्षण बढ्दै गएको देखिन्छ।
प्रश्न ४: तपाईंको व्यवसायमा सबैभन्दा बढी माग हुने मिठाई कुन–कुन हुन् ?
उत्तर: मेरो पसलमा विशेषगरी गणेश मन्दिर नजिक भएको कारण बडा र पेंडा बढी आवश्यक पर्छ। साथै खाजा–नास्ताका रूपमा बिहान बढी बिक्री हुने मिठाईहरूमा जेरी, माल्पुवा, स्वारी आदि पर्छन्। यी मिठाईहरू दैनिक उपभोगका हिसाबले पनि लोकप्रिय छन्।
प्रश्न ५: कच्चा पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायमा कस्तो असर पर्छ ?
उत्तर: कच्चा पदार्थको मूल्यवृद्धिले मिठाई व्यवसायमा प्रत्यक्ष असर पार्छ। लागत बढेपछि मिठाईको मूल्य पनि बढाउनुपर्छ, जसले गर्दा ग्राहकले कम परिमाणमा सामान किन्ने गर्छन्। यसले बिक्री घट्छ र मुनाफा कम हुन्छ। लामो समयसम्म यस्तो अवस्था रहिरहेमा व्यवसाय नै धराशायी हुने खतरा हुन्छ।
प्रश्न ६: मिठाईको गुणस्तर र स्वच्छता कायम गर्न तपाईंले के–कस्ता मापदण्ड अपनाउनु भएको छ ?
उत्तर: मिठाई व्यवसायमा गुणस्तर र स्वच्छता सबैभन्दा महत्वपूर्ण कुरा हो। यसलाई ध्यानमा राख्दै मैले उत्पादन स्थल (कारखाना) को नियमित सरसफाइ, मिठाई पकाउँदा प्रयोग हुने भाँडा–कुडा सफा राख्ने, कच्चा पदार्थ भण्डारण गर्ने स्थान व्यवस्थित गर्ने, तयार मिठाई राख्ने ठाउँ सफा र सुरक्षित बनाउने व्यवस्था गरेको छु। साथै, ताजा मिठाई मात्र बिक्री गर्ने र बासी मिठाई नबेच्ने नीति कडाइका साथ पालना गरिएको छ।
प्रश्न ७: परम्परागत मिठाई र आधुनिक मिठाईबीच ग्राहकको आकर्षण कसरी फरक देख्नुहुन्छ ?
उत्तर: पहिले परम्परागत मिठाईहरू चाडपर्व र सामाजिक कार्यमा अनिवार्य जस्तै हुन्थे। अहिले भने मानिसहरू बढी आधुनिक मिठाईतर्फ आकर्षित भएका छन्। व्यस्त जीवनशैली, स्वादमा आएको परिवर्तन र विदेशी संस्कृतिको प्रभावले परम्परागत मिठाईहरूको प्रयोग घट्दै गएको छ। अहिले लालमोहन, बर्फी, स्वारीजस्ता मिठाईहरू बढी रुचाइएका छन्।
प्रश्न ८: प्रतिस्पर्धा बढ्दै जाँदा तपाईंले अपनाउनु भएको फरक रणनीति के हो ?
उत्तर: प्रतिस्पर्धात्मक बजारमा टिकिरहन मैले ताजा र गुणस्तरीय मिठाईलाई प्राथमिकता दिएको छु। सकेसम्म उचित मूल्यमा मिठाई बिक्री गर्ने, ग्राहकसँग राम्रो व्यवहार गर्ने र विश्वास कायम राख्ने मेरो मुख्य रणनीति हो। ग्राहक सन्तुष्टि नै दीर्घकालीन सफलताको आधार हो भन्ने मेरो मान्यता छ।
प्रश्न ९: चाडपर्वको समयमा बिक्री र उत्पादन व्यवस्थापन कसरी गर्नुहुन्छ ?
उत्तर: चाडपर्वको समयमा माग अत्यधिक बढ्ने भएकाले पहिले नै कच्चा पदार्थको व्यवस्थापन गरिन्छ। आवश्यक जनशक्ति थप्ने, उत्पादन समय बढाउने र ताजा मिठाई उपलब्ध गराउने व्यवस्था मिलाइन्छ। साथै, नयाँ पुस्तालाई आकर्षित गर्न यही देशमै बसेर परम्परागत मिठाई व्यवसायबाट पनि राम्रो जीवनयापन सम्भव छ भन्ने सन्देश दिनु जरुरी छ। यस व्यवसायप्रति युवाको आकर्षण बढेमा परम्परागत मिठाई संस्कृति जोगिनुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि योगदान पुग्नेछ।

