काठमाडौं
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन सबै राजनीतिक पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशलाई विद्यमान संकटबाट मुक्त गराउन निष्पक्ष निर्वाचन अपरिहार्य भएको धारणा व्यक्त गरे।
संयोजक दाहालले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरे। “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने हाम्रो पार्टी आगामी निर्वाचनमा पहिलो शक्ति बन्न सक्छ,” उनले भने, “अब पार्टीलाई अझ बलियो बनाएर राष्ट्र र जनताको हित सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्छ।”
उनले जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिको कार्यभार अगाडि आएको उल्लेख गर्दै त्यसका लागि सबै कम्युनिस्ट शक्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। दाहालले पछिल्लो समय क्रान्तिकारी कम्युनिस्ट, नेकपा एमालेसहित विभिन्न वामपन्थी दलबाट नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको पनि बताए।
चुनावका समयमा हुने अवाञ्छित गतिविधि, अनियमितता र हस्तक्षेप रोक्न सकिए पार्टी जनताको विश्वास जित्दै पहिलो राजनीतिक शक्ति बन्ने उनको दाबी थियो। “स्वच्छ प्रतिस्पर्धा र निष्पक्ष वातावरण बने जनताले सही विकल्प रोज्नेछन्,” उनले भने।
Previous Articleकुनै पनि व्यवसाय चुनौतीबिनाको हुँदैन:ईश्वर गमाल
Next Article चुनावी चहलपहल र चुनौतीहरू

