———-
गाईतिहार लक्ष्मीपूजा दीपावली
महेश्वर श्रेष्ठ
आज कार्तिक औंसी, नेपाल र भारतमा र संसारमा छरिएर रहेका नेपाली तथा भारतीय सनातनीहरुले अति हर्षोल्लास र धुमधामका साथ मनाउने तिहार पर्वको तेस्रो दिन हो । आजको दिन तीन वटा चाडहरु एकै दिन परेको संयोगको दिन पनि हो । तल ती तीन वटै चाड बारे छोटकरी विवरण दिइएको छ ।
गाईतिहार:
घर पालुवा जनावरलाई पशुधन पनि भनिन्छ । गाई पनि घरपालुवा जनावर हो । त्यसैले गाई पनि पशुधन हो । गाईले पोषिलो दुध दिन्छ । गाईको मलमुत्र उत्तम खालको मलखाद हो । गौमुत्रमा धेरै किसिमको रोग निको पार्ने औषधीय गुण पनि छ । त्यसैले कार्तिक औंसी लक्ष्मी पूजाको दिन गाईलाई पनि पशुधन लक्ष्मी मानेर मिठो मिठो सागपात र खानेकुरा ख्वाएर पूजा गर्ने परम्परा चलिआएको छ । हिन्दुहरु त गाईलाई आमा नै मानेर उच्च सम्मान गर्दछन् । हुन त भैसी, भेडा, बाख्रा, ऊंट, घोडा पनि घर पालुवा जनावर नै हुन् । संसारका विभिन्न मुलुकमा तिनको दुध खाने गरिन्छ । भर्खर जन्मेको शिशुका लागि बाख्राको दुध आमाको दुध जतिकै पोषिलो र गुनिलो हुन्छ भनिन्छ । यी घरपालुवा पशुहरुको मलमुत्र पनि मलखादको रुपमा प्रयोग गरिन्छ । तर तिनीहरुलाई पूजा नगरिनुको कारण तिनको मासु खाने गरिएकोले हो । जसको मासु खाइन्छ उसैको पूजा गर्नु तर्कसंगत पनि होइन । यसरी पशुधनको सम्मानमा गाईलाई पूजा गर्नु र गाई तिहार भनेर चाड नै मनाउनु मूलतः प्रकृति पूजामा आधारित तिहार पर्वको अनुपम पक्ष हो ।
लक्ष्मीपूजा:
उहिले नेपाल र भारतकै पनि कतिपय राज्यको कामकाजमा कार्तिक शुक्लादि (शुक्ल पक्षमा शुरु हुने) चन्द्रमानक पात्रो प्रयोग गरिन्थ्यो र कार्तिक शुक्ल पक्ष प्रतिपदादेखि कार्तिक कृष्ण पक्ष अमावस्यासम्मको एक वर्षको अवधिलाई नै आर्थिक वर्ष पनि मान्ने चलन थियो । आर्थिक वर्षको अन्तिम दिन मानिसहरुले आआफ्नो पेशा, व्यापार, व्यवसाय र उत्पादनको हिसाब किताब फरफारक दुरुस्त राखी बहीखाता र आर्जेको सम्पति नगद सुनचांदी जवाहरातलाई लक्ष्मीको रुपमा पूजा गर्ने र नयां वर्षमा हुने कारोबार बढी सफल र लाभदायक होस् भनी कामना गर्ने चलन थियो । अहिले हामीले मान्ने सरकारी आर्थिक वर्ष फरक भए पनि धेरैको घरमा आजको दिन बहीखाता र नगद सम्पति पूजा गर्ने चलन अझै पनि छ । धन भनेको लक्ष्मी हो र लक्ष्मी भनेको धन हो । भगवान विष्णुकी अर्धांगिनी लक्ष्मीलाई धनकी देवी मान्न थाले पछि बहीखाता र धन सम्पतिसंगै धनकी देवी लक्ष्मीलाई पनि पूजा गर्ने परम्परा भित्रेको हो भन्ने विश्वास गरिन्छ । जे भए पनि लक्ष्मी पूजा भनेको आर्थिक कारोवार र समृद्धिसंग जोडिएको चाड हो ।
दिपावली:
आजको दिन दीपावली पर्व मनाउनुको पनि तीन वटा प्रसंग छन् । पहिलो प्रसंग आजैको दिन अयोध्याका राजकुमार राम वनवासबाट स्वदेश फर्केको खुसियालीमा अयोध्यावासीले राती दीप प्रज्ज्वलन गरी खुसी मनाएका थिए । अयोध्यावासीका साथै अरु सनातनीहरुले पनि हरेक वर्ष दीप प्रज्ज्वलन गर्न थाले पछि त्यसले एउटा चाडकै रुपमा लिएको रहेछ । दोस्रो प्रसंगः त्यसै गरी राजकुमार सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी आफ्नो जन्मभूमी कपिलवस्तुमा आगमन भएको खुसियालीमा कपिलवस्तुवासीहरुले अत्यन्त हर्षोल्लास र धुमधामका साथ दीप प्रज्ज्वलन गरी खुसी मनाएको घटना पछिल्ला वर्षहरुमा पनि दोहर्याउन थाले पछि त्यसले पनि चाडको रुपमा विकास गरेको रहेछ । तेस्रो प्रसंगः बौद्ध धम्म र शिक्षा प्रचारका लागि सम्राट अशोकले बनाउन लगाएको ८४००० वटा बौद्ध स्मारक (चैत्य, स्तुप, विहार) र घर घरमा कार्तिक औंसीको राती दीप दान र प्रज्ज्वलन गरी सामुहिक उदघाटन गरिएको घटना पछिका वर्षहरुमा घर घरमै दीप प्रज्जवलन गरी गरिएर चाडकै रुप लिएको रहेछ ।
द्यौसीभैलो
नेपालमा मनाइने तिहार पर्वको एउटा मौलिक विशेषता द्यौसीभैलो पनि हो । आज लक्ष्मी पूजाको दिन खासमा कन्याकेटीहरुले सांझमा भैलो खेल्ने वा भैलो माग्ने दिन हो । जुन घरमा द्यौसीभैलो खेल्न वा माग्न गइन्छ त्यस घरको धनीले द्यौसीभैलो टोलीलाई गच्छे अनुसार अन्न रोटी फलफूल नगद दक्षिणा दिने र द्यौसीभैलो टोलीले घरधनीलाई आशिर्वाद दिने चलन छ । केटीहरुले भैलो खेल्दा एउटा लामो गीत गाउने गरिन्छ जसको एउटा श्लोक यस्तो छः
“हामी त्यसै आएनौं, बलिराजाले पठाएको, हे औंसी बारो गाई तिहारो भैलो ।“
उक्त श्लोकमा उल्लेखित बलिराजा बारे केहि चर्चा गर्नु प्रासंगिक नै हुनेछ । कतिपयले भन्ने गरे जस्तै यी बलिराजा भनेको हिन्दु मिथकीय दानव राज बली होइनन् । आफै महादानी दानवराज बलीले आफ्ना प्रजालाई भैलो (भीख) माग्न पठाएको भन्नु कुनै पनि दृष्टिले तर्कसंगत छैन । दीपावली त्यौहार मान्ने भारतीय हिन्दुहरुले द्यौसीभैलो खेल्ने चलन नै नभएबाट पनि यिनी दानवराज बली होइनन् भन्ने पुष्टी हुन्छ । नेपालमा र विदेशमा बस्ने नेपाली मुलका मानिसहरुले मात्र द्यौसीभैलो खेल्ने भएकोले यसको सम्बन्ध नेपालकै कोहि राजा हुन् भन्ने पुष्टि हुन्छ ।
केहि मानिसहरुले भैली गितमा उल्लेखित बलिराजा भनेको मगर राजा बलिहाङ हुन् भन्ने गर्छन् । तर त्यसलाई पुष्टी गर्ने भरपर्दो प्रसंग र ऐतिहासिक तथ्य अहिलेसम्म फेला परेको छैन । बलिराजा बारे अलि भरपर्दो अर्को प्रसंग भने यस्तो छ । सासंको पन्ध्रौं शताव्दीको शुरुमा जुम्लामा बलिराज कल्याल नामको खस राजा थिए । उनकै शासनकालमा पश्चिम एसियाको समरकन्द देशका अत्यन्त क्रूर, निर्दयी र विध्वंसकारी शासक तैमुरले दिल्ली लगायत मध्यउत्तर भारतका प्रमुख शहरहरुमा भीषण नरसंहार र वस्तीहरुमा आगजनी गरी बहुमूल्य सम्पति लुटेर पश्चिम नेपाल भई फर्कन लागेका थिए । यो कुरा थाहा पाएका जुम्ली राजा बलिराज कल्यालले वरपरका राजा रजौटाहरुलाई पनि एकीकृत गरी बनेको संयुक्त सेनाको बलमा आवश्यक परेमा तैमुरको सेनासंग भिड्ने योजना बनाएका थिए । लडाईको लागि थप नयां हतियार किन्न र ठुलो संख्याको संयुक्त सेनालाई पाल्न ठुलो धनराशीको आवश्यकता परेको तर नियमित उठाइने करले मात्र त्यसलाई धान्न नसक्ने भएकोले शारिरीक रुपले तन्दुरुस्त महिला र पुरुषहरु पर्म सेनामा भर्ति गर्ने र कन्याकेटीहरुलाई घर घरमा गएर भैली (भीख, दान) माग्न पठाउने नीति लागु गरेको र त्यही बेलादेखि द्यौसीभैलो माग्ने चलन चलेको हो भनिन्छ ।
परन्तु इतिहासको कालखण्ड, तैमुर लङको प्रसंग सत्य भए तापनि नेपालको इतिहासमा जुम्ली राजा बलिराज कल्याल बारे कतै केहि उल्लेख छैन । त्यसैले यो अहिले पनि अध्ययन र अनुसन्धानकै विषय बनेको छ । तथापी भैली गीतको उपरोक्त श्लोकको उक्त प्रसंग नेपाल बाहिर जान सक्ने देखिन्न । यो पनि तिहार पर्वको नेपाली मौलिकताको एउटा बलियो आधार हो । यसमा हामीले गर्व गर्नु पर्छ

