भारतको लाहा कारखानामा सात वर्ष रोजगारी गरेपछि गौरादह नगरपालिका–२ का डम्बर विश्वकर्मालाई आफ्नै देशमा यस्तै उद्यम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । त्यही चाहनाले २०७५ सालमा विश्वकर्माले स्वदेशमा नै पौरख गर्ने सोचका साथ गौरादह–९ मा अढाई बिगाहा जग्गा भाडामा लिएर लाहाखेती सुरु गर्नुभयो । हाल उहाँले खेती विस्तार गरेर पाँच बिगाहा पु¥याएसँगै निर्मल चप्रा उद्योग सञ्चालन गरिरहनुभएको छ ।
सरकारी कागजपत्र सिलबन्दी गर्नुपर्दा होस् या घरेलु हातहतियारको बिँड लगाउन नै किन नहोस्, लाहा नभई हुँदैन । परम्परागत काममा मात्र नभएर फर्निचरको रङरोगन, सुनका गहना निर्माण, जुत्ताको पोलिसलगायतका काममा लाहाको प्रयोग हुँदै आएको छ ।
नेपालमा परम्परागत रुपमा पहाडी भागमा कतैकतै सानो मात्रामा लाहाखेती हुँदै आए तापनि व्यावसायिक रुपमा लाहाखेती सुरु गरेको श्रेय ६० वर्षीय विश्वकर्माले नै पाउँदै आउनुभएको छ । “खेती सुरु गर्दा छिमेकीले पनि पत्याएनन्,” उहाँ लाहाखेती भित्र्याउँदाको अनुभव सुनाउँदै भन्नुहुन्छ, “रूखमा फल्छ कि जरामा भनेर मेरो खिल्ली उडाउनेहरु पनि थिए । अरू खेतीपाती गर्न छाडेर बेकारमा लाहाखेती गरेको भनेर मलाई सम्झाउनेहरु अहिलेको प्रगति देखेर अचम्म मान्छन् ।”
लाहा एक प्रकारको परजीवी किरा हो । यसले बयर, खयर, पिपल, सेमियलता, रहर, किम्बुलगायतका विभिन्न प्रजातिका बोटबिरुवाको हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्दछ । जीवन चक्र पूरा गर्ने क्रममा कच्चा लाहा उत्पादन हुन्छ । विश्वकर्माले सेमियलता नामको बिरुवामा लाहा उत्पादन गर्दै आउनुभएको छ ।
विश्वकर्माको बैगुनधुरास्थित लाहाखेती टाढाबाट हेर्दा उखुखेती जस्तै देखिन्छ । बाक्लै बिरुवाहरु झाँगिएका छन् । तर खेतीमै पुगेर नियालेर हेर्यो भने हरेक बोटमा लाहाको किरा सलबलाएको प्रस्टै देख्न सकिन्छ । “रोजगारीका क्रममा भारतको लाहा कारखानामा लामो समय काम गरेँ,” उहाँ भन्नुहुन्छ, “लाहाखेती कसरी हुन्छ, कारखानामा प्रशोधन कसरी हुन्छ भन्ने सिकेपछि मलाई आफ्नै देशमा लाहाखेती गर्ने रहर जाग्यो ।”
नेपालमा पहिलो व्यावसायिक लाहाखेती सुरु गर्नुभएको विश्वकर्माले वार्षिक आठदेखि १० हजार किलोग्राम कुसुम लाहा उत्पादन गर्दै आउनुभएको छ । यो उत्पादन स्थानीय बजारमा नै खपत हुने गरेको उहाँले बताउनुभयो । उहाँले रु २० लाखको प्रारम्भिक लगानीमा निर्मल चप्रा उद्योग स्थापना गर्नुभएको थियो । हाल उद्योगले दैनिक ३५ केजी प्रशोधित लाहा उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादनले स्थानीय माग नै धान्न नसकेको अवस्था छ । उद्योगमा सात जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । डिभिजन वन कार्यालय झापाले स्थापनाकालमा उद्योगलाई रु चार लाख अनुदान दिएको थियो ।
उहाँले आफू मात्र होइन, झापा र जिल्लाबाहिर धनकुटा, भोजपुर, तेह्रथुमलगायत किसानलाई लाहाखेतीसम्बन्धी प्रशिक्षण दिएर लाहाखेतीको विस्तारमा योगदान पु¥याइरहनुभएको छ । हाल झापाको बाहुनडाँगी क्षेत्रमा खेती विस्तार भइरहेको छ । पाँचपोखरी र नवज्योति सामुदायिक वनले व्यावसायिक लाहाखेतीप्रति सुरु गरेका छन् । रङ्गीन र कुसुम गरी दुई किसिमको लाहाखेती हुने गरेको छ । विश्वकर्माले उत्पादन गर्दै आएको कुसुम लाहा बजारमा प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुँदै आएको छ । रङ्गीन लाहा प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ । लाहाखेती हुनुभन्दा पहिले नेपालीहरु भारतमा पूर्ण रुपमा निर्भर थिए । तर अहिले झापा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा यसको खेती हुन थालेपछि लाहामा अब आत्मनिर्भरतातर्फको यात्रा सुरु भएको छ । नेपालमा बर्सेनि रु २० करोडभन्दा बढी मूल्यको लाहा आयात हुँदै आएको छ ।

