काठमाडौं, असोज १५ – नवघोषित कुमारी आर्यतारा शाक्यलाई हिजो एक विशेष समारोहमार्फत विधिपूर्वक कुमारीघरमा आसन गराइएको छ।
धार्मिक परम्परा अनुसार बाजागाजासहित कुमारीलाई पूजाआजा गरी कुमारीघर प्रवेश गराइएको हो। हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले जीवित देवीका रूपमा सम्मान गर्ने कुमारी अब राजकीय भूमिका ग्रहण गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिहरूमा सहभागी हुने भएकी छन्।
इटुम्बहाल निवासी अढाइ वर्षीया आर्यताराले अबदेखि तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्दै विभिन्न धार्मिक कार्यक्रम र पर्वहरूमा औपचारिक सहभागिता जनाउनेछन्। कुमारी परम्पराको प्रारम्भ तत्कालीन राजा जयप्रकाश मल्लको पालामा भएको मानिन्छ।
कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार कुमारीले इन्द्रजात्रा, नवरात्रि लगायत परम्परागत संस्कृतिहरूमा सहभागिता जनाउने र तोकिएको समयमा सर्वसाधारणलाई दर्शन दिने कार्यसूची हुनेछ।
वसन्तपुरस्थित कुमारीघरमा कुमारीका लागि आवश्यक सेवा, खानपान र आवासको विशेष व्यवस्था गरिने परम्परा रहिआएको छ। साथै, प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने चलन रहेको छ। यसरी नयाँ कुमारीको आसनसँगै काठमाडौं उपत्यकामा जीवित देवी परम्पराको निरन्तरता कायम भएको छ।

