नेपालको इतिहासमा पुस २७ गतेको विशेष महत्त्व छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा जन्मिएका राजा पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै हरेक वर्ष यस दिनलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइन्छ । वि.सं. २०८२ मा हामी उहाँको ३०४औँ जन्मजयन्ती मनाइरहेका छौँ । यो दिन केवल एक राजाको जन्मदिन मात्र नभई, दक्षिण एसियाको नक्सामा एउटा स्वतन्त्र र सार्वभौम नेपाल राष्ट्रको उदय भएको गौरवमय इतिहासको स्मरण पनि हो । तसर्थ पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।
विश्वनाथ खरेल
ऐतिहासिक पृष्ठभूमि र एकीकरणको आवश्यकता
पृथ्वीनारायण शाहले शासन सम्हाल्नु अघि नेपाल उपत्यका काठमाडौँ र वरपरका क्षेत्रहरू साना–साना बाइसे र चौबिसे राज्यहरूमा विभाजित थिए । ती राज्यहरू आपसमा लडाइँ गरिरहन्थे । जसले गर्दा विदेशी शक्तिहरू, विशेष गरी इस्ट इन्डिया कम्पनी बेलायती साम्राज्यलाई चलखेल गर्न सजिलो भएको थियो । जुन वि.सं. १७७९ साल पुस २७ गते गोरखा दरबारमा जन्मिएका पृथ्वीनारायण शाह गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सुपुत्र थिए । सानो राज्य गोरखामा जन्मिए पनि उनको दृष्टि विशाल थियो । बाल्यकालदेखि नै राजनीति, कूटनीति, युद्धकला र शासन व्यवस्थाप्रति गहिरो चासो राख्ने पृथ्वीनारायण शाहले नेपालको भावी स्वरूपलाई सानै उमेरमा कल्पना गरिसकेका थिए । त्यसबेला नेपाल दर्जनौँ स–साना राज्यबाइसे, चौबिसे र मल्ल राज्यहरूमा विभाजित थियो । आपसी कलह, षड्यन्त्र र सत्ता संघर्षले देश कमजोर बन्दै गइरहेको अवस्थामा पृथ्वीनारायण शाहले एकीकृत नेपालको सपना देखे ।
नेपाल एकीकरणको ऐतिहासिक पृष्ठभूमि
पृथ्वीनारायण शाहको उदयभन्दा अघि नेपाल राजनीतिक रूपमा अत्यन्तै खण्डित थियो । काठमाडौँ उपत्यकामा मल्ल राजाहरूको शासन थियो भने पश्चिम र पूर्वमा बाइसे–चौबिसे राज्यहरू थिए । यस विभाजनको फाइदा उठाउँदै ब्रिटिस ईस्ट इण्डिया कम्पनीले भारत हुँदै नेपालतर्फ आँखा लगाइरहेको थियो । यही परिस्थितिमा पृथ्वीनारायण शाहले बुझिसकेका थिएस । यदि नेपाल एकीकृत भएन भने विदेशी शक्तिको उपनिवेश बन्न धेरै समय लाग्दैन । त्यसैले उनले आफ्नो जीवनको लक्ष्य नै नेपालको एकीकरण बनाए ।
एकीकरण अभियान र रणनीति
पृथ्वीनारायण शाह केवल वीर योद्धा मात्र थिएनन् । उनी कुशल रणनीतिकार पनि थिए । उनले एकीकरणका लागि सैन्य शक्ति, कूटनीति, सामाजिक सम्बन्ध र आर्थिक रणनीतिलाई समान रूपमा प्रयोग गरे । नुवाकोट विजयबाट सुरु भएको एकीकरण अभियान क्रमशः मकवानपुर, कीर्तिपुर, काठमाडौँ, पाटन र भक्तपुरसम्म फैलियो । विशेषतः कीर्तिपुर विजय निकै कठिन र ऐतिहासिक मानिन्छ । निरन्तर असफलतापछि पनि हार नमानेर अन्ततः विजय हासिल गर्नु पृथ्वीनारायण शाहको अठोट र धैर्यको उदाहरण हो । उनले स्थानीय जनताको मन जित्न, धार्मिक सहिष्णुता कायम राख्न र सांस्कृतिक विविधतालाई सम्मान गर्न विशेष ध्यान दिए । यही कारण एकीकृत नेपाल केवल भूगोलको जोड होइन, भावनात्मक एकता पनि बन्न पुग्यो ।
दिव्य उपदेशः दूरदर्शी चिन्तन
पृथ्वीनारायण शाहको सबैभन्दा अमूल्य विरासत भनेको दिव्य उपदेश हो । यसमा उनले नेपालको भू–राजनीतिक अवस्थालाई दुई ढुंगाबीचको तरुलको रूपमा व्याख्या गरेका छन् । उत्तरमा चीन र दक्षिणमा भारत त्यतिबेला ब्रिटिस प्रभाव बीच सन्तुलन कायम राख्नुपर्ने उनको चेतावनी आज पनि उत्तिकै सान्दर्भिक छ । दिव्य उपदेशमा उनले स्वदेशी उत्पादन, आत्मनिर्भर अर्थतन्त्र, विदेशी हस्तक्षेपबाट सावधानी, न्यायपूर्ण शासन र जनताको हितलाई प्राथमिकता दिनुपर्ने कुरा उल्लेख गरेका छन् । यी विचारहरू आजको संघीय, लोकतान्त्रिक नेपालका लागि पनि मार्गदर्शक सिद्धान्त बन्न सक्छन् ।
राष्ट्रिय एकताको अवधारणा
पृथ्वीनारायण शाहका लागि राष्ट्रिय एकता केवल भूगोलको विस्तार थिएन । जाति, भाषा, धर्म र संस्कृतिको विविधतालाई एउटै सूत्रमा बाँध्नु नै उनको लक्ष्य थियो । जसमा “चार वर्ण छत्तीस जात” को अवधारणाले नेपाल बहुल समाज भए पनि एक साझा पहिचान भएको राष्ट्र बन्न सक्ने सन्देश दिन्छ । आज नेपाल संघीय संरचनामा प्रवेश गरिसकेको छ । विभिन्न पहिचानका आवाज, अधिकारका माग र राजनीतिक बहसहरूबीच राष्ट्रिय एकताको आवश्यकता झन् बढेको छ । यही सन्दर्भमा पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसले सबै नेपालीलाई साझा राष्ट्रभावमा बाँध्ने भूमिका खेल्दछ ।
युवा पुस्ता र राष्ट्रिय एकता
आजको युवा पुस्ता नै राष्ट्रको भविष्य हो । पृथ्वीनारायण शाहको जीवनबाट युवाहरूले नेतृत्व, त्याग, दृढ संकल्प र राष्ट्रप्रेमको पाठ सिक्न सक्छन् । राष्ट्रिय एकता दिवस युवामा इतिहासप्रति चासो जगाउने र देशप्रति जिम्मेवारी बोध गराउने अवसर हो ।
देशभित्रै अवसर सिर्जना, श्रमको सम्मान र राष्ट्रिय उत्पादनको प्रवद्र्धन जस्ता विषयमा युवाको सक्रियता पृथ्वीनारायण शाहको सोचसँग मेल खान्छ ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा ३०४औँ पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवस केवल विगतको स्मरण होइन, वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको दिशानिर्देशन हो । फलतः पृथ्वीनारायण शाहले एकीकृत गरेको नेपाललाई सुरक्षित, समृद्ध र एकताबद्ध बनाउनु आजका पुस्ताको दायित्व हो । मूलतः उनको जीवन, विचार र योगदानबाट प्रेरणा लिएर राष्ट्रिय एकता, स्वाधीनता र आत्मसम्मानको रक्षा गर्दै अघि बढ्नु नै साँचो अर्थमा पृथ्वीनारायण जयन्ती मनाउनु हो । अन्ततः, पृथ्वीनारायण शाहको सपना—एक, अविभाज्य र स्वाभिमानी नेपाल—पूरा गर्नु नै राष्ट्रिय एकता दिवसको सार्थकता हो । अतः पृथ्वीनारायण शाह कुनै एक वंश वा जातिका मात्र राजा थिएनन् ।

