काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायराभित्र ल्याएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था आचारसंहितामा समेटेको हो। आयोगका अनुसार निर्वाचन प्रभावित पार्ने उद्देश्यले नक्कली एकाउन्ट सञ्चालन गर्न, फेक साइट खोल्न वा त्यसका माध्यमबाट गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
आचारसंहिताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी सामाजिक सञ्जालमार्फत होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने, अपमानजनक वा द्वेषपूर्ण अभिव्यक्ति दिने कार्य गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।
त्यसैगरी, कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भइसकेको सामग्रीलाई एआई प्रयोग गरेर वा नगरी तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट–प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनजस्ता कार्य गरी निर्वाचन प्रभावित पार्न पनि निषेध गरिएको छ।
आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा आँच पुग्ने गरी अवाञ्छित आरोप लगाउन, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना वा मानहानी हुने सामग्री उत्पादन गर्न, प्रकाशन वा प्रसारण गर्नसमेत आचारसंहिताले रोक लगाएको छ।
यसैगरी मतदाता वा मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ।
निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ।
Previous Articleउपत्यकामा चिसो केही घट्यो, न्यूनतम तापक्रम ३ डिग्री
Next Article आधुनिक नेपालको जग र वर्तमान सान्दर्भिकता

