विश्वराज अर्याल
भरतपुर १८,
नेपालको इतिहासमा नेपालीहरूले धेरैपटक आन्दोलन तथा रगतको खोला बगाउनु परेको देखिन्छ | जब मानिस निस्वार्थको भावनाले ओतप्रोत भई सामूहिक आन्दोलनमा लाग्दछ। जब पद र पावर पाउँछ त्यसमा लिप्त भई मनि र मसलको प्रयोग गरी निरंकुश बन्न खोजेको अवस्था आज धेरै अगाडिदेखि का उपलब्धिहरूले देखाएको छ। हिजो पटकपटक यो देशमा आन्दोलन भएको छ। ठूलो धनजनको क्षति भएको छ। मानवीयता लाई भन्दा वस्तुलाई बढी जोड दिएको छ। त्यसैले आएको उपलब्धिलाई चिन्तन र चेतना अभाव भएको देखिन्छ | २००७ सालको क्रान्तिको उपलब्धि १७ सालमा गएर मेटियो। २०१७ सालको पञ्चायती व्यवस्था को समयमा पटकपटक आन्दोलनहरू भए | २०३५ सालको विद्यार्थी आन्दोलनले २०३६ सालको जनमत संग्रहको अवस्था सिर्जना गर्यो। २०४२ सालको सत्याग्रह तथा जनआन्दोलन २०४६ ले पुन प्रजातन्त्रको स्थापना गर्यो। हरेक आन्दोलनमा धनजनको ठूलो क्षति भएको देखिन्छ। २०६२ ६३ सालको आन्दोलनले गणतन्त्र स्थापना गर्न खोजेको देखिन्छ | २०८२ साल भदौ २३ गते भएको आन्दोलनले अति भ्रष्ट भ्रष्टाचार तथा सामाजिक सञ्जालप्रति सरकारले देखाएको अनुत्तरदायी अवस्थाले गर्दा लामो समयदेखि पीडामा रहेका युवा शक्ति जसले यो यो देशमा नै सम्भावना छ हामीले नगरे कसले गर्ने भन्ने विचारका साथमा सडकमा आए त्यो महासागरलाई तत्कालीन सरकारले दमन गर्न हतियारको प्रयोग गर्यो त्यही परिणाम स्वरूप सरकार ढल्न पुग्यो |
। अहिलेसम्मका नागरिकका उपलब्धिहरू संरक्षित भएको देखिँदैन। आवेगमा आएर आफ्नो प्रस्तुति गर्नु मात्रै सहज परिस्थिति होइन। अहिलेसम्मको इतिहास हेर्दा उपलब्धि भएको त्यस उपलब्धिलाई निरन्तरता तथा आवश्यकतामा संरक्षण गर्न नसकेको भने इतिहासले देखाएको छ। पटकपटक आन्दोलन गर्दा धनजनको ठूलो क्षति तथा सार्वजनिक सम्पत्तिको पनि नष्ट भएको देखिन्छ | नेपालमा नेपालीहरू आफ्नो क्षमता तथा योग्यता अनुसार आफ्नो मुलुकलाई उन्नतितर्फ लान चाहन्छन्। तर पनि यो देशमा त्यस किसिमको वातावरण नभएको देखिन्छ। २०८२ साल भदौ २३ गतेको आन्दोलन आवश्यक थियो किनभने अति भ्रष्टाचार अति अनियमितता भएको अवस्था थियो। तर २०८२ साल भदौ २४ गतेको सरकारी भवन तथा कार्यालयहरूमा लगाइएको आग्जनी तथा नोक्सानले गर्दा मानवमा एक त्रासको वातावरण फैलिरहेको छ। मानवमा आफैमा असुरक्षित रहेको अनुभव तथा अनुभूति भइरहेको छ। यो धनजनको क्षतिले सबैलाई नोक्सान भएको देखिन्छ। सबैभन्दा ठूलो मानसिकता हो। दरिद्र मानसिकताले कुनै पनि कुरा हासिल गर्न सकिँदैन। त्यसैले यो आन्दोलनको उपलब्धि पनि निर्थक नबनोस्। योजनाबद्ध तरिकाबाट परिवार समाज र राष्ट्रको उन्नति तथा प्रगति भएको देख्न सकियोस्। सबैभन्दा पहिला शैक्षिक जागरण चेतना र चिन्तन गर्ने शिक्षाको परिकल्पना गरियोस्। संस्कार संस्कारमा होइन संस्कार व्यवहारमा देखिने शिक्षा रहोस्। भावी आउने पुस्ताले पटक पटक आन्दोलन गर्न नपरोस् |सबै तह र तप्कामा रहनुभएका महानुभावहरूले आफ्नो अधिकार मात्रै होइन कर्तव्य सम्झेर यो देशलाई माया गर्ने तथा आफ्नो योगदान के रहन्छ भनी मनन गर्ने अवस्था आएको छ। नेपालमा आजसम्मको आन्दोलनले मानव र मानवीयताको लागि प्राथमिकता दिएको पाइँदैन। केवल वस्तु र धनलाई नै पहिलो प्राथमिकता दिएको हुनाले यो देशको अवस्था प्रत्येक दिन खस्कँदो अवस्थामा देखेको छ। युवा शक्ति भनेको देशको प्रमुख शक्ति हो। यो शक्तिलाई नै आफ्नै देशमा वातावरण छ। आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने किसिमको शिक्षा तथा वातावरण नबनाइकन विदेशीनको लागि बाध्य बनाइएको छ। आशा छ अबको आन्दोलनको उपलब्धि स्थायित्व तथा विकास भई हरेक नेपाली नागरिकले विद्यार्थीको नाममा विदेशी भूमिमा श्रम बेच्न नपरोस्। आफ्नै देशमा प्रकृति संस्कृति प्रविधि र सृष्टिको भरपुर प्रयोग गरी पुस्ता रूपान्तरण र हस्तान्तरण गर्न सकियोस्। यही छ शुभकामना। धन्यवाद…..

