लक्ष्मण उप्रेती
प्रस्तावना
क्रान्ति कुनै भावनात्मक आवेग, आकस्मिक उद्वेलन वा व्यक्तिगत असन्तुष्टि होइन। यो वर्ग सङ्घर्षको उत्कर्ष हो, जसले वैज्ञानिक विचारधारा, राजनीतिक मार्गदर्शन, संगठनात्मक अनुशासन र दीर्घकालीन जनसंघर्षलाई समेटेर अघि बढ्छ। तर, क्रान्तिकारी आन्दोलनभित्र सधैंजसो केही विचलनकारी प्रवृत्तिहरू देखा पर्छन्, जसले आन्दोलनको धारलाई कमजोर बनाउँछ। आजको सन्दर्भमा त्यस्ता तीन प्रमुख प्रवृत्तिहरू हुन् , फिरन्ते क्रान्तिकारी, स्वतन्त्र क्रान्तिकारी, र स्वतस्फूर्ततावाद। यी प्रवृत्तिहरूको आलोचनात्मक विश्लेषण गर्नु क्रान्तिकारी आन्दोलनको सुदृढीकरणका लागि अपरिहार्य छ।
१. फिरन्ते क्रान्तिकारी: अस्थिरता र अराजकतावादको प्रतीक:
फिरन्ते क्रान्तिकारी भन्नाले एउटा विचारधाराबाट अर्को विचारधारातर्फ, एउटा संगठनबाट अर्को संगठनतर्फ बारम्बार हिँडिरहने, स्थायित्व, प्रतिबद्धता र अनुशासनविहीन व्यक्तित्वलाई जनाइन्छ। ती व्यक्ति कहिले माओवादी, कहिले माक्र्सवादी, कहिले ट्रट्स्किस्टत त कहिले अराजकतावादीका रुपमा देखिन्छन् तर कहिल्यै स्पष्ट वैचारिक आधारमा टेकेर लामो समय एउटै क्रान्तिकारी कार्यदिशामा अडिग रहँदैनन्।उनिहरुमा,वैचारिक अस्पष्टता र प्रयोगवाद,संगठन वा नेतृत्वमा सौदाबाजी एवं व्यक्तिगत असन्तुष्टिलाई ‘सिद्धान्त’को नाम दिने प्रवृत्ति प्रवल हुन्छ।
फिरन्तेपनले क्रान्तिकारी आन्दोलनभित्र अविश्वास, अस्थिरता र अराजकता फैलाउँछ। यसले संगठनलाई कमजोर बनाउँछ, नेतृत्वको भूमिकालाई बदनाम बनाउँछ, र पार्टी निर्माणको प्रक्रियामा निरन्तर विघटनको र बिसर्जनको बीउ रोप्छ। यी पात्रहरू आत्मकेन्द्रित र क्रान्तिको सामूहिक अनुशासनका घोर विरोधी हुन्छ्न।
२. स्वतन्त्र क्रान्तिकारी: व्यक्तिवादी घमण्डको राजनीतिः
स्वतन्त्र क्रान्तिकारी आफूलाई कुनै पनि पार्टी, संगठन वा नेतृत्वबाट स्वतन्त्र राख्न चाहन्छन्। उनीहरू सोच्दछन् , ‘म नै सबैथोक हुँ’, ‘सङ्गठनको अवश्यकता छैन’, ‘म आफैं नै सिद्धान्त पनि हुँ, नेतृत्व पनि हुँ।’ तर यिनीहरूको ‘स्वतन्त्रता’ भनेको वस्तुतः सङ्गठन, जनअनुशासन र कार्यदिशाबाट पलायन हो। उनिहरुमा पार्टी, संगठन र नेतृत्वप्रति सधै अन्तरबिरोध रहिरहेको हुन्छ। उनिहरुको चिन्तनमा”म नै सही” भन्ने आत्म-केन्द्रितता,जनवादी केन्द्रीकरणको अस्वीकारोक्ति हुन्छ।
क्रान्ति व्यक्तिगत आकांक्षाको समष्टि होइन, यो वैज्ञानिक र सङ्गठित कार्यदिशा हो। स्वतन्त्र क्रान्तिकारीहरूको वैचारिक स्वतन्त्रता भनेको अन्ततः बिना नेतृत्वको भुलभुलैयाँमा हराउनु हो। लेनिनले भनेका थिए ,” बिना क्रान्तिकारी नेतृत्व, स्वतन्त्र क्रान्तिकारीहरू मात्र पराजयको सूत्र हुन्।” व्यक्तिगत स्वतन्त्रताको नाममा संगठन र वर्ग सङ्घर्षबाट विमुख हुनु बुर्जुवा व्यक्तिवादको उपज हो।
३. स्वतस्फूर्ततावाद: चेतनारहित आवेगको महिमामण्डन:
स्वतस्फूर्ततावाद भन्नाले जनताको तात्कालिक असन्तोष, हडताल, विद्रोह वा विरोधलाई नै क्रान्तिको पर्याय ठान्ने दृष्टिकोण हो। यो प्रवृत्तिमा नेतृत्व, संगठन, र वर्ग चेतनाको महत्त्वलाई तुच्छ ठानिन्छ। यिनिहरु तात्कालिकता र आकस्मिकतालाई महत्त्व दिने,संगठन र नेतृत्वविहीन आन्दोलनको पक्षपोषण,जनताको ‘आवेग’ नै क्रान्तिको पर्याय हो भन्ने भ्रममा हुन्छ्न।
इतिहासले प्रमाणित गरिसकेको छ , स्वतस्फूर्तता, नेतृत्वबिहीन जनउभार, चाहिँ क्रान्ति होइन; त्यो क्षणिक उद्वेलन मात्र हो। स्वतस्फूर्त आन्दोलनहरू जबसम्म जनवाद- वैज्ञानिक समाजवादको विचार, नेतृत्व र कार्यदिशाले निर्देशित हुँदैनन्, तबसम्म तिनीहरू पूँजीवादकै पुनर्संरचनामा विलीन हुन्छन्।
४. वैचारिक स्रोतहरू: यिनका जरा कहाँ छन्?
यी प्रवृत्तिहरूको जरा मूलतः निम्न पक्षहरूमा गाडिएको पाइन्छ:
क) बुर्जुवा व्यक्तिवाद र आत्मकेन्द्रितता
ख) सिद्धान्त र आन्दोलनप्रतिको अज्ञान
ग) बौद्धिक विचलन र जनवर्गसँगको टुटेको सम्बन्ध
घ) अनुभवभन्दा माथि भावनालाई राख्ने प्रवृत्ति
यी सबै प्रवृत्तिहरू सामूहिक क्रान्तिकारी कार्यदिशा होइन, व्यक्तिवादी अराजकतावादका अवशेष हुन्।
५. निष्कर्ष: क्रान्तिकारी आन्दोलनको सही बाटो के हो?
क्रान्ति सङ्गठित वर्गको सचेत संघर्ष हो। यसका लागि आवश्यक हुन्छ ;
क) स्पष्ट वैचारिक आधार, मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराको बाटो
ख) सुदृढ संगठन र जनवादी अनुशासन
ग) वैज्ञानिक कार्यदिशा र वर्ग नेतृत्व
घ) स्वतस्फूर्ततालाई नेतृत्वद्वारा सचेत क्रान्तिमा रूपान्तरण गर्ने क्षमता
फिरन्तेपन, स्वतन्त्रता र स्वतस्फूर्तताको नाममा चल्ने आन्दोलनहरू अन्ततः क्रान्ति विरोधी हुन्छ्न र उनिहरुको भुमिकाले साम्राज्यवादलाई नै अप्रत्यक्ष सहयोग पुगिरहेको हुन्छ। त्यसैले आजको आवश्यकता हो ,
“एकीकृत विचार, सुदृढ संगठन र अनुशासित क्रान्तिकारी नेतृत्वसहितको जनवादी – वैज्ञानिक समाजवादी आन्दोलन।”

