सुनसरी । पहाडी र तराईका जिल्लाहरूमा भइरहेको निरन्तर वर्षाका कारण कोशी ब्यारेज हुँदै बग्ने पानीको बहावमा उतारचढाव भइरहेको छ।
सोमबार बिहान ६ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव थियो। बेलुका ८ बजे पनि त्यही अवस्था रहेकामा राति १० बजे एकाएक बढेर एक लाख ७९ हजार ७४० क्युसेक पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।
पानीको बहावलाई नियन्त्रण गर्न ब्यारेजका ५२ वटा मूल ढोका र चारवटा नहरका ढोकामध्ये अहिले १९ वटा खोलिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा बढी भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
अहिले पनि त्यहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ।
विशेष गरी सन् २००८ मा कोशी नदीको बहाव एक लाख ६८ हजार क्युसेक पुग्दा पूर्वी तटबन्ध भत्काएको घटनालाई स्मरण गर्दै प्रशासनले उच्च सतर्कता अपनाइरहेको छ। आसपासका नागरिकलाई सतर्कता अपनाउन सूचित गरेको छ ।

