काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। यस बैठकमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुनुका साथै मन्त्रीहरूले संसदमा सांसदहरूका प्रश्नको जवाफ दिनेछन्।
आजको बैठकको मुख्य कार्यसूचीमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने रहेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेस गर्नेछन् र विधेयकमाथि आएका संशोधनहरूलाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले सांसदहरूका मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम पनि छ। आज अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी प्रश्नोत्तर हुनेछ।
यसैले पनि आजको संसद बैठक निकै व्यस्त र महत्त्वपूर्ण रहने देखिएको छ।

