–विश्वनाथ खरेल
हिन्दू धमालम्बीहरुको पात्रो अनुसार चान्द्रमास अनुसार महिनाको ११औँ दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा २ वटा एकादशी पर्दछन् । यसै अनुरुप कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी या ठूली एकादशी पनि भनिन्छ । फलतः एकादशी मध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिएको हो । यसरी हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । यसरी हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ । यसको साथसाथै बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भत्रे अर्थ हुन्छ । वस्तुतः हिन्दु धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ । यसमा खासगरीकन एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ । त्यस्तै महाभारतमा पनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन्।् । यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गनुपर्ने धार्मिक मान्यता रहेको छ । यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहने गरेको छ ।
हिन्दू देश नेपालमा वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । प्रत्येक एकादशीको आ–आफ्नो अलग नाम र परिचय छ भने सबैको भित्राभित्रै व्रत उपवासको फल तोकिएको पाइन्छ । त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो । यस वर्षको कार्तिक १५ गते शनिबार यो एकादशी पर्न आएको छ । यसलाई भन्ने नै हो भने तुलसीको विवहा गर्ने एकादशी पनि भनिन्छ । यस दिनलाई सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । यसमा पनि दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशीतिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । जुन एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरको फलसमेत पाइने हुन्छ । फलतः शुक्लपक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो । जसमा भन्ने नै हो भने शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । यसर्थ कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । मूलतः फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूर्य यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । यसलाई ठूली एकादशीको रूपमा पनि मात्रे गरिन्छ । यद्यपी, ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । जसमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पत्र गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ । यसमा संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम संकीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसत्र हुने गर्नुहुन्छ । यस विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिबोधिनी एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन् । यसरी पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जपतप, स्नान, दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन ।
समग्रमा भन्नुपर्दा एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य पनि हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ । अतः विष्णुले वृन्दासित छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन । जुन समयमा वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । यसमा विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवान्सरह प्रसत्रता प्राप्त हुन्छ । यस व्रतको प्रभाव मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो ।

