सन्दर्भः नागपञ्चमी
–विश्वनाथ खरेल
विश्वका अनेकौं धर्महरुमध्ये हिन्दूधर्म अति प्राचीन धर्म हो । सृष्टिको मिरर्मिरेकालदेखि नै प्रारम्भ भएकाले यस धर्मलाई सत्य सनातन धर्म पनि भनिन्छ । नेपालमा विभिन्न किसिमका धर्माबलम्बिहरुको बासस्थान भएको हुंदा यहाँ विभिन्न प्रकारका चाड पर्वहरु पर्दछन । यहांका मानवले विभिन्न समयमा विभिन्न किसिमका चाडपर्वहरु मनाउने गरेका छन् । यस मध्ये “नागपञ्चमी“ पनि एक महत्वपूर्ण पर्व हो । यो पर्व प्रत्येक साल श्रावण शुक्ल पञ्चमीका दिन पर्दछ । यस वर्षको नागपञ्चमी चन्द्रमासको आधारमा श्रावण महिनाको १३ गते मंगलबारका दिन पर्न गएको छ । यस दिन नागको राम्रो चित्र बनाई घर घरमा बैधिक विधिपूर्वक टॅास्ने धार्मिक परम्परा रहेको छ । यो मूर्तिलाई घरको मूल ढोकामा टॉसी विधिपूर्वक दूध, गोवर, भेटी, दही, चन्दन, दुवो, लावा, अक्षता र धूपदीप सहितको पूजा गरेमा नागदेवता प्रशन्न हुन्छन् । त्यसले गर्दा मेध, अग्नि र बज्रपातको समेत कुनै डर हॅुदैन भन्ने शास्तीय कथन छ ।
नागपञ्चमीका दिन नागको पूजा गर्दा मानिसहरुले विभिन्न जात र आकृतिका सर्पहरुका चित्र र मूर्ति बनाएको, सर्पका चित्रहरु टॉसेको, सर्पलाई दूधको धारा दिएको अथवा सर्पकै चित्रहरु रथमा राखेर जात्राहरु चलाएको आदि हामीले देखेका छौं । यसले हाम्रो सांस्कृतिक धारणमा नाग भनेको सर्प हो । सर्पको पूजा गरेपछि वर्षदिनसम्म सर्पको डर हुॅदैन भन्ने छाप परेको देखिन्छ । प्रकृतिबाट नै नागले बहुमुखी प्रतिभा पाएको छ । विभिन्न धर्ममा नागलाई विभिन्न किसिमले व्याख्या गरिन्छ । नागको स्वरुपबारे विचार गर्दा यसको बाहिरी कान हॅुदैन । तर पनि यसले सुन्छ जसले गर्दा यसले ऑखाले सुन्छ भन्ने जनविश्वास छ । यसले लगातार जिब्रो बाहिर निकालिरहने हुॅदा यो हावा मात्र खाएर पनि वॉच्न सक्छ भन्ने विश्वासको जन्म भएको हुनुपर्छ । नागजातिको कॉचुली फेरेपछि नागले लामो आयु पाउॅछ भन्ने विश्वास प्रायः संसार भरि नै पाइन्छ । कॉचुली फेर्ने क्रममा नागले बूढो रङ्गहीन छाला त्यागेर नयॉ फुर्तिलो र चम्किलो जविनाधार प्राप्त गर्ने हुन्छ । यो प्रक्रिया एकप्रकारले पुनर्जन्ममा बृद्ध शरीर त्यागेर आत्माले नयॉ शरीरमा प्रवेश गरेको जस्तो देखिन्छ ।
मत्स्य पुराणमा प्राचीन पर्वतीय जातिहरुको वर्णन गर्दा गन्धर्भ, किन्नर, यक्ष, राक्षस, विद्याधर, किम्पुरुष, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ । पुराणहरुले नाग जातिको सम्वन्ध शिवसित, गरुड जातिको सम्वन्ध विष्णुसित भएको र गरुढ नागहरुको बैरभाव भएको सन्दर्भ पनि दिन्छन् । माथिको सन्धि सन्दर्भले शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीहरुको वीच संधर्ष र संझौता भएको संकेत दिन्छ । तर, बुद्धधर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ । कतै यसको दोष देखाइएको पाइन्न । बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथाहरुमा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान र अमरताको प्रतीकको रुपमा पेस गरिएको छ । हिन्दू धर्मशास्त्रका पुराणहरुमा नागले निश्चित किसिमको गुणको प्रतिनिधित्व गर्दैन । यसको क्षेत्र केही फैलिएको र मिश्रित गरिएको छ भने कतैकतै देवीदेवतको अवतारको रुपमा पनि चित्रित गरिएको छ । सुरुसुरुमा आर्यहरु नागपूजक थिएनन्, पछि आर्य संस्कृतिमा विभिन्न स्थानिय जातिहरुको प्रभावको रुपमा नाग पूजा गर्ने प्रथा भयो । श्रावण महिनाको शुकपपक्षको पञ्चमी तिथिलाई नागको जन्मदिन मानिन्छ । नागको जन्मदिन अर्थात नागपञ्चमीलाई हिन्दू र बौद्ध दुवैले समान रुपले मान्दछन् । हाम्रो देशका पुराण, वंशावली र अनुश्रुतिहरुमा प्राचीन नागजातिका चर्चापरिर्चाहरु पाइन्छ । प्राचीन कालमा नेपाललाई “बासुकी क्षेत्र“ पनि भनेको देखिन्छ र विक्रमको चौधौं पन्धौं शदीसम्म नेपालीहरुले धार्मिक काम गर्दा यस्तो संकल्प पढ्थे – जबमूद्धीपे, भरत खण्डे, हिमबत्पादे, बासुकी क्षेत्रे, श्री नेपाल देशे “ भन्ने प्रचलन थियो ।
समग्रमा भन्नुपर्दा नाग भनेको सर्प मात्र हैन र त्यो मानवकै एउटा जाति पनि हो भन्ने कुरा एकदम प्रष्ट हुन्छ । घरमा नाग टाँसनाले दैवि शक्तिबाट हुने विपतिबाट जोगिने लोकोकृत रहेको पाइन्छ । यसबाट वर्ष दिन भरीमा कुनै किसिमको भय त्रासबाट विचल्लीबाट जोगिन सकिन्छ । नागलाई हिन्दूधर्ममा देवता समान मानिएको छ । भगवान् विष्णु शेषनागलाई नै शर्या बनाएर विश्राम गर्नुहुन्छ । देवताहरुका पनि महादेवता महादेवको घाँटी–जटा हातमा नाग नै नाग देखिन्छ । भगवान् श्री रामलाई चौध वर्षको वनवासमा भाइ लक्ष्मण(शेषनाग अवतार) ले साथ दिई सेवा गर्नुभएको थियो । भगवान् श्रीकृष्णका दाजु वलराम शेषनागका रुप हुन । श्रीकृष्णको जन्मपश्चात् मथुराबाट गोकुल लैजादा मुसलधारे वर्षामा शेषनागले छाता वनी सुरक्षा गर्नुभएको थियो । समुन्द्र मन्थन गर्दा वासुकी नागको डोरीको प्रयोग भएको थियो । त्रिपुरासुर राक्षसलाई मार्न शेषनागको धनुको तादो प्रयोग गरिएको थियो । हरेक मानव शरीरमा अवस्थित कुण्डलिनी शक्ति सर्पको आकारमा नै छ । खुला आकाशमुनि भगवान् वुद्ध समाधिमा लीन भएको अवस्थामा नागले नै सुरक्षा प्रदान गरेको थिए र विभिन्न देवीदेवताले प्रेमपूर्वक गहनाका रुपमा ग्रहण गरी नागको सम्मान गरेको धार्मिक मान्यता छ । नेपालमा प्रत्येक साल नेपालीहरुले आ–आफ्नो घरमा नागको विभिन्न रुपका चित्र अंकृत तस्वीर टाँस्ने प्रचलन रहेको कुरा सबैलाई अवगत नै रहेको छ । नागपञ्चमीको रुपमा नाग पूजा गर्ने संस्कृति तिनै नागपूजक प्राचीन जातिहरुको संस्कृति बन्न पुगेको हो । यसबाट प्रशन्न भएका ब्रम्हाले मानवजातिलाई यस पञ्चमीका दिन श्रद्धा भतिmपूर्वक नागको पूजा गरेमा अनिष्टको निवारण र ऐश्रर्यको प्राप्ती हुन्छ भनेका थिए त्यसैले अद्यापि हिन्दूसमाजमा श्रावण शुक्ल पञ्चमीका दिन नाग पूजा गरेर नागपञ्चमी पर्व धूमघामपूर्वक मनाइन्छ ।

