काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन गरेका छन्। यो आयोजनाले नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।
रानी जमरा कुलरिया सिंचाईको विस्तारित आयोजनामार्फत १४,३०० हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुग्नेछ। यसले विशेषगरी कैलालीको टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा पहिलेदेखि नै सेवा पुर्याउँदै आएको थियो। आयोजनाद्वारा थप सिंचाई सुविधा पुग्ने जनाईएको छ ।
जलविद्युत् उत्पादनको लागि आयोजना प्रभावकारी हुने आशा गरिएको छ । रानी जमरा कुलरिया सिँचाइ नहरबाट ४.७१ मेगावाट विद्युत् उत्पादन हुनेछ।
यो आयोजनाको प्रसारण लाइन जानकी गाउँपालिका–९ कटासेमा उत्पादित यो विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ, जसले स्थानीय क्षेत्रमा ऊर्जा आपूर्तिमा सुधार ल्याउनेछ।
राष्ट्रिय गौरवको आयोजना र यसको भविष्य
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने अब तेस्रो चरणका कार्यहरू सुरु भएका छन्। तेस्रो चरणअन्तर्गत भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस आयोजनालाई नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको प्रतीकका रूपमा चित्रण गरे। उनले १२० वर्षअघि स्थानीय किसानहरूको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको यस प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गर्न स्थानीय सहभागिता र सरकारको समन्वयले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
प्रधानमन्त्री ओलीले उद्घाटनका अवसरमा सिक्टा, बबई, महाकाली तेस्रो, भेरी-बबई र सुनकोशी-मरिन बहुद्देश्यीय आयोजनाहरू लगायतका अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूलाई पनि शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई उद्घाटन गरेका हुन् ।

