लक्ष्मण उप्रेती
७४औं प्रगतिशील लेखक संघ (प्रलेस) स्थापना दिवसका अवसरमा आयोजित “वर्तमान अवस्थामा कम्युनिस्ट पार्टीहरूको भूमिका र सहकार्य” विषयक विचार गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख कामरेड लक्ष्मण उप्रेतीले देश र पार्टीसँग सम्बन्धित गम्भीर धारणा राख्नुभयो।
१. वर्तमान संकटको स्वरूप
हाम्रो देश अहिले ऐतिहासिक संकटको अवस्थाबाट गुज्रिरहेको छ।सामन्तवादको आधारशिला ढले पनि पुनः टाउको उठाउने प्रयास भइरहेको छ।नयाँ जनवाद वा समाजवाद जन्मिन सकेको छैन, यसकारण “पुरानो ढलेको तर नयाँ जन्मन नसकेको” यथास्थिति छ।उत्पादन क्षेत्र ध्वस्त छ, अर्थतन्त्र भुइँमा पुगेको छ।किसान जमिनविहीन, श्रमिक रोजगारविहीन, युवा विदेशमा पसिना बेच्न बाध्य, चेली–बेटी खाडीदेखि भारतसम्म बेचिन बाध्य भएका छन्।गाउँ–सहर मिटरब्याज, सहकारी, सुदखोरी र वित्तीय शोषणको जालोमा डुबेका छन्।
२. राजनीतिक नेतृत्वको धोका
२०४६ पछि प्रजातान्त्रिक व्यवस्था, २०५२ देखिको जनयुद्ध, हजारौँ सहिद–घाइते–बेपत्ता योद्धाहरूको बलिदान, र ०६२/०६३ को जनआन्दोलनको उपलब्धिलाई नेतृत्व तहले धोका दियो।लोकतान्त्रिक गणतन्त्रको नाममा बनेका सरकारहरूले जनताको विश्वास भंग गरे।नामका कम्युनिस्ट नेताहरू पद–प्रतिष्ठा र कुर्सीको लागि दलाल पूँजीवादी बने।मानव–तस्करी, सुन–तस्करी, भूमाफिया, यौन–काण्ड, दलाल पूँजीवादी हाइड्रो–पावर र बिग–हाउसको शेयर होल्डिङ सम्ममा संलग्न भई “लुटतन्त्र” जन्माए।
३. साम्राज्यवाद र विदेशी हस्तक्षेपको खतरा: साम्राज्यवाद अझ खतरनाक रूपमा नेपाललाई घेरेको छ।अमेरिकी MCC, SPP, IPS मार्फत नेपाललाई सैनिक अड्डा बनाउने प्रयास भइरहेको छ।छिमेकी शक्तिहरूले समेत आफ्ना स्वार्थका लागि नेपाललाई खेलौना बनाउन खोजिरहेका छन्।विदेशी दूतावासहरू भित्रैबाट नेपालको राजनीति निर्देशित भइरहेको छ।
४. युवा र Gen–Z बिद्रोह
शिक्षित युवाले आफ्नै देशमा भविष्य नदेख्दा सडकमा “हाम्रो भविष्य कहाँ छ?” भनेर प्रश्न गरिरहेका छन्।यही प्रश्नले भर्खरै २३–२४ भदौको विद्रोह जन्मायो।यस Gen–Z विद्रोहलाई अग्रगामी परिवर्तनको ऊर्जामा रूपान्तरण गर्नु आवश्यक छ।
५. पार्टीको रणनीति र प्रस्ताव
क्रान्तिकारी कम्युनिस्टहरूले बलियो प्रतिगमन–विरोधी र साम्राज्यवाद–विरोधी संयुक्त मोर्चा निर्माण गर्नुपर्छ।शक्तिशाली संयुक्त जनआन्दोलन खडा गर्नुपर्छ।त्यसैको बलमा “वृहत सर्वपक्षीय राजनीतिक सम्मेलन” बाट संयुक्त सरकार गठन गरी जनगणतान्त्रिक व्यवस्था सञ्चालन गर्नुपर्छ।मजदुर–किसानका आधारभूत सवालमा साझा कार्यक्रम बनाउनुपर्छ।दलाल र साम्राज्यवादी एजेन्ट बनेका नामका कम्युनिस्टहरूसँग सम्बन्ध विच्छेद गर्नुपर्छ।सिद्धान्त–निष्ठ सहकार्य र एकता निर्माण गर्नुपर्छ।
६. प्रतिबद्धता
कामरेड उप्रेतीले नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट यस कार्यक्रममार्फत निम्न प्रतिबद्धता प्रष्ट पार्नुभयो: राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि सडकमा उत्रनेछौँ।
साम्राज्यवादको चक्रब्युह तोड्ने र घेरा भत्काउनेछौँ।
Gen–Z को विद्रोहलाई अग्रगामी परिवर्तनको दिशामा रूपान्तरण गर्नेछौँ।नयाँ जनवादी क्रान्तिका कार्यभार पूरा गर्दै समाजवादी समाज निर्माणमा समर्पित रहनेछौँ।
७. अन्तिम निष्कर्ष
नेपालको भविष्य श्रमिक जनताको हातमा मात्र सुरक्षित छ।
सच्चा कम्युनिस्ट एकता, सिद्धान्तनिष्ठ सहकार्य र जनशक्ति नै संकट तोड्ने आधार हो।कामरेड लेनिनको भनाइ स्मरण गर्दै उहाँले भन्नुभयो – “हामीले साम्राज्यवादलाई परास्त गर्नुपर्छ, नत्र साम्राज्यवाद हामी माथि चढ्नेछ।”
आज साम्राज्यवाद हामीमाथि चढिसकेको छ, यसलाई परास्त गर्नु आजको सबैभन्दा महत्त्वपूर्ण कार्यभार हो, जुन अन्तर्राष्ट्रिय श्रमिक वर्ग र उत्पीडित वर्गसँगको ऐक्यबद्धतामा पूरा गरिनेछ।
अन्त्यमा, आयोजक प्रलेसलाई धन्यवाद ज्ञापन गर्दै प्रगतिशील यात्राको शुभकामना व्यक्त गर्नुभयो।विचार–गोष्टिमा कामरेड लक्ष्मण उप्रेतीले राख्नुभएको विचारको सार–संक्षेप हो।

