काठमाडौं । निजी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्यतर्फको दोस्रो उडानका रूपमा कात्तिक २ (अक्टोबर १९) देखि सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो।
कोलकाता–काठमाडौँ रुटमा सेवा दिने एकमात्र नेपाली वायुसेवा कम्पनी बुद्ध एयरले सुरुआतमा हप्तामा तीन दिन — आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछ। काठमाडौँबाट बिहान ७ः०० बजे उडान भर्ने जहाज स्थानीय समयानुसार बिहान ९ः२० मा कोलकाता अवतरण गर्नेछ। एटीआर–७२ जहाजमार्फत हुने यो उडानको समय करिब १ घण्टा ३५ मिनेट हुनेछ।
एकतर्फी भाडा १३ हजार ३५३ रुपैयाँ तोकिएको छ। यात्रुलाई आकर्षित गर्न बुद्ध एयरले धार्मिक र पर्यटकीय प्याकेज पनि समेटेको छ। ‘आउटबाउन्ड’ प्याकेजमार्फत नेपालबाट भारतका धार्मिक तथा सांस्कृतिक स्थल — जग्गन्नाथपुरी, सुन्दरवन, गङ्गासागरलगायतका भ्रमण गर्न सकिनेछ भने ‘इनबाउन्ड होलिडे प्याकेज’मार्फत भारतबाट नेपाल भित्रिने यात्रुलाई विभिन्न गन्तव्यको भ्रमण सुविधा उपलब्ध गराइनेछ। यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत सञ्चालन हुनेछन्।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण गर्ने यात्रुलाई लक्षित गर्दै बुद्ध एयरले कोलकाता उडानलाई पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ।
हाल बुद्ध एयरले देशभर दैनिक छ दर्जनभन्दा बढी उडान भर्दै आएको छ भने अन्तर्राष्ट्रिय गन्तव्यतर्फ वाराणसीमा हप्तामा तीन दिन (सोमबार, बुधबार र शुक्रबार) सेवा सञ्चालन गरिरहेको छ।
यसअघि बुद्ध एयरले २०७६ साल वैशाख २ गतेदेखि कोलकाता उडान थालेको थियो तर कोभिड–१९ महामारीका कारण मङ्सिर १६ देखि सो सेवा स्थगन गरिएको थियो।