काठमाडौँ । चितवनको तुइन खोलामा पुन: मंगलबार बेलुकी ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण यातायात पूर्ण रुपमा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बुधबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु भए पनि दिनभर सडक सञ्चालनमा आउने सम्भावना अत्यन्तै न्यून रहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रूपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको खैरेनीटार मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
सडकखण्डमा केही दिनयता लगातार पहिरो खस्ने क्रम जारी छ। ढुङ्गा खसिरहेकाले सडक खुले पनि यातायात नियमित सञ्चालनमा समस्या भइरहेको छ। दशैँ नजिकिँदै गर्दा बाटो बन्द भएपछि यात्रुहरू मारमा परेका छन्।