— देव राज घिमिरे “रमण”
प्रिय साथी तथा मित्रजनहरूमा हार्दिक नमस्कार र अभिवादन।
झण्डै साढे दुई दशकदेखि म कम्युनिष्ट आन्दोलनको यात्रामा सक्रिय रहँदै आएको छु। यो लामो समयको यात्रामा धेरै आरोह-अवरोह, संघर्ष, त्याग र अनुभवका पानाहरू रहेका छन्। क्रान्तिको नाममा जनताको मुक्ति र सामाजिक रूपान्तरणको सपना बोकेर हिँडेको हाम्रो यात्राले कतिपय ठाउँमा गौरवपूर्ण इतिहास बनायो भने कतिपय चरणमा आत्मसमीक्षाको गहिरो आवश्यकता पनि देखायो।
विशेषगरी पछिल्ला १३ वर्षको अवधिमा कम्युनिष्ट आन्दोलनभित्र देखिएका टुटफुट, विभाजन र आपसी विद्रोहका नाममा चलाइएका गतिविधिहरूले आन्दोलनलाई बलियो बनाउने सट्टा कमजोर बनाउने दिशा लिएका छन्। हामीमध्ये धेरैजसो अगुवा नेताहरू भावनाको आवेग, व्यक्तिगत कुण्ठा र अहंकारको कारणले विचलित भयौं। राजनीतिक मतभेद र रणनीतिक बहसलाई संगठनात्मक द्वन्द्व र व्यक्तिगत द्वेषमा परिणत गरिनु आन्दोलनकै दुर्भाग्य हो।
आजको राजनीतिक संक्रमणकालीन अवस्थाले ती सबै कदमहरूको परिणाम स्पष्ट रूपमा देखाएको छ। जनताले हाम्रा कार्यप्रणाली र व्यवहारको मूल्याङ्कन गरिसकेका छन्। जनताको नजरमा क्रान्तिको नाममा गरिएको टुटफुटले नयाँ विकल्प होइन, पुरानो गल्ती दोहोर्याउने काम मात्रै गरेको छ। आन्दोलनका नाममा बनाइएका साना-साना झुण्ड, खेमाबाजी र व्यक्तिगत स्वार्थका वृतहरू आज स्वतः समाप्त हुने दिशातर्फ गइरहेका छन्। जनताको हितभन्दा व्यक्तिगत महत्वाकांक्षा प्राथमिक बन्नु कम्युनिष्ट सिद्धान्तको आत्मा विपरीत हो।
क्रान्तिको नाममा गाली गलौज, अपशब्द र व्यक्तिगत आक्रमणको संस्कृतिले आन्दोलनलाई नै दूषित बनायो। पार्टीको सिद्धान्त र संगठनात्मक अनुशासनभन्दा बढी व्यक्तिगत रिस, कुण्ठा र असन्तोषले ठाउँ लियो। यसले न त जनता बीच विश्वास जगायो, न त परिवर्तनको बाटो खोल्यो। बरु, क्रान्तिकारी आन्दोलनलाई प्रतिक्रियावादी शक्तिहरूको हाँसोको विषय बनाइदियो।
नेपाली जनताले हजारौं सहिदको बलिदान, हजारौं परिवारको आँसु र दशकौंको संघर्षको माध्यमबाट ल्याएको लोकतन्त्र आज गम्भीर संकटमा छ। तर त्यो संकट बाह्य शक्तिबाट मात्र होइन, हाम्रो आफ्नै गल्ती, आत्मकेन्द्रित व्यवहार र अनुशासनहीन राजनीतिक अभ्यासबाट पनि जन्मिएको हो। उपलब्धिको रक्षा गर्नुको सट्टा, दैनिक राजनीतिक प्रतिस्पर्धा, सडकको विरोध र चोक–चौतारामा अनुत्पादक भाषणहरूले आन्दोलनलाई दिशाहीन बनाइदिएका छन्।
अब यो अवस्थाबाट हामीले गहिरो आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। हाम्रा गल्तीहरूलाई स्वीकार गर्दै नयाँ सोच, नयाँ दिशा र नयाँ प्रतिबद्धतासहित कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत गर्न जरुरी छ। जनताको विश्वास पुनः जित्नका लागि व्यवहारिक नीति, जनमुखी दृष्टिकोण र संगठनात्मक एकताको आवश्यकता छ।
मले आफ्नो लामो राजनीतिक यात्राको समीक्षा गर्दै अबको यात्रा नयाँ शिराबाट सुरु गर्ने निर्णय गरेको छु। अबको यात्रामा व्यक्तिगत आकांक्षा होइन, सामूहिक हितलाई केन्द्रमा राख्नेछु। वर्गीय संघर्षको मूल आत्मा जनताको सेवा हो — त्यो कुरा आत्मसात् गर्दै जनताको बीचबाटै पुनः संगठन निर्माण गर्ने संकल्प लिएको छु।
हामीले अतीतका कमजोरीहरूलाई पाठका रूपमा ग्रहण गर्नुपर्छ। गलत बाटोबाट फर्कनु पराजय होइन, नयाँ सुरुवात हो। यही आत्मसमीक्षा र आत्मसुधारको बाटोले मात्र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः जनताको विश्वास जित्ने योग्य बनाउन सक्छ।
हार्दिक अभिवादनसहित,
देव राज घिमिरे “रमण”

