काठमाडौं । जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको मुद्दा र आन्तरिक विवादले कमजोर बनेका राजनीतिक शक्तिहरूबीच आगामी निर्वाचन केन्द्रित एकता र ध्रुवीकरणको प्रयास तीव्र बनेको छ । सोहीक्रममा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत आठ दल–समूहले आगामी कात्तिक १८ गते औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय सभागृह वा प्रज्ञा भवनमा आयोजना हुने विशेष कार्यक्रममा ‘नेकपा समाजवादी’ नामक नयाँ पार्टीको घोषणा गरिने र पार्टीको चुनाव चिह्न ‘तारा’ हुने तयारी गरिएको स्रोतले जनाएको छ । नयाँ पार्टीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक रहने सहमति बनेको छ ।
यस एकतामा प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा विप्लवबाट अलग भएका चिरण सी को नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी सहभागी हुनेछन् ।
एकीकृत पार्टीको विधान, राजनीतिक दस्तावेज र घोषणापत्र तयार गर्ने जिम्मा माओवादीबाट देव गुरुङ, वर्षमान पुन र रेखा शर्मा, तथा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वालालाई दिइएको छ ।
ज्वालाका अनुसार, एकता प्रक्रियाका सबै काम अन्तिम चरणमा पुगेका छन् । उनले भने, “घोषणा सभापछि पार्टी दर्ता गरी २१ फागुनको निर्वाचनका लागि तयारी सुरु गरिनेछ ।”
यसरी लामो समयदेखि चलिरहेको माओवादी–समाजवादीबीचको एकता प्रयास अब निष्कर्षमा पुग्ने संकेत देखिएको छ, जसले नेपालको बाम राजनीतिमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

