-जयराम बिडारी
इतिहास निर्मम शिक्षक हो। यसले सत्ताको उन्मादलाई पटक-पटक दण्डित गर्दै आएको छ । वि.सं. १९९७ को निरङ्कुशताले विद्रोही चेतलाई मेटाउन खोज्यो । शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालालको रगतले यो धर्ती सिञ्चित छ । आज तिनै शहीदको जगमा उभिएर ‘लोकप्रियता’ को मुकुण्डोभित्र नयाँ तानाशाही अङ्कुराउँदैछ। ‘’लोकप्रियताको आडमा तानाशाह जन्मनु हुँदैन।” यो आधुनिक लोकतन्त्रको विकृतिमाथि गरिएको तीक्ष्ण शल्यक्रिया हो । “किराले हिरा बिगार्नु हुँदैन।” राणाकालीन समयको संवाद भित्रको यो अन्तर्य गहिरो छ । हिरा जस्तो लोकतन्त्रलाई स्वार्थका किराले खोक्रो पार्दैछन्। इतिहास साक्षी छ— पात्रहरूको सफायाले सत्ताको आयु लम्बिएन। रगतका थोपाले प्रजातन्त्रको जग मात्र मजबुत बनायो । विडम्बना ! आज हामी लोकतन्त्रकै उपभोग गरेर अधिनायकवादको मन्त्र जप्दैछौँ। के हामी अन्जानमै भीडतन्त्रको दास बन्दैछौँ? यो प्रश्न आजको राजनीतिक क्षितिजमा भयावह भएर उभिएको छ ।
लोकतन्त्रको प्राण ‘विधिको शासन’ हो । यहाँ ऐनको परिभाषा व्यक्ति हेरेर बदलिँदैन । तर, काठमाडौंको सत्ता सञ्चालनमा देखिएका कतिपय अभ्यासले गम्भीर नैतिक प्रश्न उब्जाएका छन् । आफ्ना मतदातासँगको दूरी बढिरहँदा, शक्ति र स्रोतको दुरुपयोग हुनु चिन्ताजनक छ। पारिवारिक धर्म र राजकीय मर्यादा फरक विषय हुन्। राज्यको सुरक्षा संयन्त्रलाई निजी सहयोगी बनाउनु शक्तिको चरम स्वेच्छाचारिता हो। “सानालाई ऐन, ठूलालाई चैन” गर्ने प्रवृत्तिले नयाँ सामन्तवादलाई जन्म दिन्छ।
भीडतन्त्रको जोखिम आज देश ‘पपुलिज्म’ को बाढीमा छ। यहाँ तथ्य पराजित छ, भावना उत्तेजित छ। जब प्रश्न गरिन्छ, तब जवाफको सट्टा ‘गालीको वर्षा’ हुन्छ। हामीले यस्तो भीड बनायौँ, जसले आफ्ना ‘आइडल’ लाई ईश्वर मान्छ । जहाँ प्रश्न गर्नु अपराध हुन्छ, त्यहाँ लोकतन्त्रको मृत्यु हुन्छ । कोही पनि व्यक्ति ‘अप्रश्नयोग्य’ हुन सक्दैन। भीडले न्याय गर्ने र भीडले नै शासन गर्ने पद्धति लोकतन्त्र होइन, यो विशुद्ध ‘भीडतन्त्र’ हो। यो तानाशाह बन्ने पूर्वाभ्यास मात्र हो ।
सत्ताको आयु जनजीविका र नैतिकतामा टिकेको हुन्छ । शहीदले चाप्लुसी गरेनन्, बरु जनता जगाए। आज फेरि जनतालाई ‘अन्धभक्त’ होइन, ‘सचेत नागरिक’ बनाउनु छ । सेनाको निरङ्कुशता होस् वा भीडको आडमा आउने स्वेच्छाचारिता— दुवै लोकतन्त्रका शत्रु हुन् । किराले हिरा बिगार्नुअघि नै नागरिक खबरदारी आवश्यक छ ।
शक्तिको मातमा विधि मिच्नेहरूलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन । लोकप्रियतन्त्रको मुकुण्डोभित्र लुकेको अधिनायकवादको भ्रूण चिन्नु नै आजको युगधर्म हो।
दार्शनिक राजनीतिज्ञका रुपमा परिचित रूपचन्द्र विष्टले ‘थाहा’ आन्दोलन मार्फत जनता जगाउन खोजेको चेतना आज संकटमा छ । विष्टले ठड्याउन नसकेको विवेकको स्तम्भ एउटा ‘भुइँमान्छे’ ले उठाउन खोज्नु फलामे चिउरा चपाउनु सरह हो । बोल्ने जति सबै बाठा र नबोल्ने जति सबै लाटा पक्कै होइनन् । तर, सचेत नागरिकका लागि विचार प्रवाह गर्नु अधिकार मात्र होइन, यो एउटा अनिवार्य राष्ट्रिय कर्तव्य पनि हो । जहाँ मौनता अपराध बन्छ, त्यहाँ शब्दहरू शस्त्र बन्नुपर्छ ।
आधुनिक राजनीतिमा विरोधाभासको नग्न नाच देखिन्छ। हिजो व्यापारीको सहयोगलाई ‘भ्रष्टाचार’ देख्नेहरू आज आफैँ त्यसको लाहाछाप लगाउँदैछन्। सेन्चुरी मसला जस्ता व्यापारिक घरानाबाट आठ करोडको विलासी गाडी उपहार थाप्नु कुन नैतिकताको कसीभित्र पर्छ ? एउटाको सहयोग ‘अपराध’ र अर्कोको त्यही कार्य ‘उपहार’ बन्ने यो कस्तो लोकतन्त्र हो ? विडम्बना! सचेत भनिएको भीड यो दोहोरो मापदण्डमा विवेकहीन ताली बजाइरहेको छ । यो चेतनाको उदय होइन, विवेकको सामूहिक बन्धकी हो ।
प्रवृत्ति र प्रतिविम्ब लोकतान्त्रिक मान्यतामा जनताले आफ्नै स्तर अनुसारको नेता पाउँछन् । यदि नागरिक स्वयम् पथभ्रष्ट र अल्छी छन् भने इमान्दार नेतृत्वको परिकल्पना केवल दिवास्वप्न हुनेछ । नेताको प्रवृत्ति जनताकै स्वभावको प्रतिविम्ब हो । जब भीड संवेगको दास बन्छ र तथ्यलाई तर्कले होइन, उत्तेजनाले काट्छ, तब विनाश सुनिश्चित हुन्छ । आफ्नै खुट्टामा बन्चरो प्रहार गर्ने समाजले दुःख नपाए कसले पाउने ? इमानको खडेरी परेको ठाउँमा लोकतन्त्रको फूल फुल्न सक्दैन ।
इतिहासमा मानिसहरु विवशताले ‘कमारा-कमारी’ बन्थे । तर, २१औँ शताब्दीको यो चित्र भयावह छ । यहाँ सम्पन्न र शिक्षित भनिएकाहरू नै स्वघोषित रूपमा कसैको ‘मानसिक दास’ बनिरहेका छन् । वैचारिक स्वतन्त्रतालाई व्यक्तिपूजाको वेदीमा बलि चढाउनु आधुनिक दासताको चरम रूप हो । ‘कमारा’ बन्नुमा गर्व गर्ने यो जमातले लोकतन्त्रको उपहास गरिरहेको छ । यो चेतनाको संकट मात्र होइन, सभ्यताकै स्खलन हो ।
लोकतन्त्रमा प्रश्नको मृत्यु हुनु भनेको स्वतन्त्रताको अन्त्य हुनु हो । उपहारको राजनीति र अन्धभक्तिको भीडले हामीलाई कता लैजाँदैछ ? ‘थाहा’ को आलोकमा स्वयम्लाई नचिनुन्जेल हामी कसै न कसैको गोटी बनिरहनेछौँ । लोकप्रियताको खोलभित्र लुकेको यो स्वघोषित दासतालाई नचिनेसम्म र नबलेसम्म वास्तविक परिवर्तन सम्भव छैन । त्यसैले, अब भीडबाट बाहिर निस्केर ‘नागरिक’ बन्ने साहस गरौँ ।
कुनै व्यक्तिलाई ‘भगवान’ को सिंहासनमा राख्नु लोकतन्त्रको उपहास हो । उसको अक्षम्य गल्तीमा ताली बजाउनु र प्रश्न गर्नेमाथि जाइलाग्नु चेतनाको मृत्यु हो । यो आधुनिक दासताको पराकाष्ठा मात्र होइन, सभ्यताकै स्खलन हो । शारीरिक बन्धनभन्दा मानसिक दासता कैयौँ गुणा घातक हुन्छ। जञ्जिर देखिने गरी खुट्टामा होइन, अदृश्य रूपमा मस्तिष्कमा बाँधिएको छ । जहाँ विवेक बन्धकी राखिन्छ, त्यहाँ स्वतन्त्रताको अर्थ रहँदैन ।
भीडतन्त्रको कुहिरो र लोकतन्त्रको संकटमा आज देश पपुलिज्म र भीडतन्त्रको बाक्लो कुहिरोमा हराएको छ । कसलाई प्रश्न गर्ने र कसलाई पुज्ने भन्ने निर्णय भीडले गरिरहेको छ । यो अवस्थामा साँचो लोकतन्त्र संकटको भुमरीमा छ । आलोचना लोकतन्त्रको सुन्दर गहना हो । यो कुनै दण्डनीय अपराध होइन । कसैको ‘अन्धभक्त’ हुनु आत्मसमर्पण हो।

