बन्दसूचिमा वरिपरिका राखेर समानुपातिकको धज्जी उडाईयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् पूर्व स्वास्थ्य मन्त्री डा तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक तर्फको बन्दसूचीप्रति आपत्ति जनाएकी छन्। उनले सूचीमा आफन्तवाद र नातावाद हाबी भएको भन्दै त्यसको अन्त्य गर्न माग गरेकी छन्।
मंगलबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै कार्कीले रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न उठाएको बताएकी छन्। उनका अनुसार समानुपातिक प्रणाली भौगोलिक रूपमा विकट क्षेत्र, पहुँच र शक्ति नभएका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउने उद्देश्यले ल्याइएको हो।
‘समानुपातिकको अवधारणा नै विपन्न, पिछडिएका र आवाज नपुगेका समुदायलाई स्थान दिनका लागि हो। सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, गाउँ बोल्नुपर्छ,’ उनले लेखेकी छन्, ‘तर पार्टी नेतृत्वका आफन्तहरू र पार्टीका भाइटल पोस्टमा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीका आकांक्षी बन्नु र त्यही आफ्नो स्पेस बनाउनुले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न खडा गरेको छ।’
उनले पार्टीका पदाधिकारीहरूलाई समेत समानुपातिक सूचीमा समावेश गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। साथै, पार्टीले प्राइमरी भोटिङको मर्म र प्रक्रियाको उडाएको आरोप समेत लगाएकी छन्।

