काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा आफ्नो सुखद् अनुभव नपाएको बताएका छन्। उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी ठोस परिवर्तन ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा केही कस्मेटिक सुधार भए पनि यात्रु र पर्यटकका हिसाबले अनुभव सन्तोषजनक नरहेको उल्लेख गरे।
मन्त्री सिन्हाले भने, “काठमाडौं विमानस्थलबाट यात्रा गर्दा मेरो अनुभव सुखद रहेन। सामान्य मान्छे र पर्यटकका रूपमा हेर्दा अझै धेरै असहजता छन्।” ससाना तर महत्त्वपूर्ण विषयमा ध्यान दिन नसकिएको भन्दै उनले त्यसको जिम्मेवारी लिने संकेत पनि गरे।
विमानस्थल सुधारसँगै हवाई सुरक्षामा गम्भीर भएर काम गर्न निर्देशन दिँदै मन्त्री सिन्हाले अब आफू मन्त्रीका रूपमा धेरै समय नरहेको बताए। “अब कुनै दबाबविना काम गर्नुस्, बाहाना नबनाउनुस्। दुई महिनामा एभिएसन सेफ्टीमा ठोस काम देखिनुपर्छ,” उनले भने, “म परिणाम चाहन्छु, तपाईंहरू खटिनुस्।”
निर्वाचनपछि आउने नयाँ सरकारका लागि आधार तयार हुने गरी काम थाल्नसमेत उनले प्राधिकरणलाई आग्रह गरे।
मन्त्री सिन्हाले प्राधिकरणको लेखा प्रणाली, सम्पत्ति सुरक्षालगायत विषयमा पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाए। कालोसूची (ग्रे/ब्ल्याक लिस्ट) र नयाँ विमानस्थल नियमित सञ्चालनसम्बन्धी योजनामा अपेक्षित प्रगति नदेखिएको उनको भनाइ थियो।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको सम्भावना खोज्न अग्रसर हुन निर्देशन दिँदै उनले त्यहाँ गरिएको लगानीले राजस्वमार्फत प्रतिफल दिन्छ कि दिँदैन भन्ने आधारमै प्राधिकरणको सफलताको मूल्याङ्कन हुने बताए।
हुन्छ त मन्त्री सिन्हाको निर्देशन बमोजिम दुई महिनामा व्यापक परिवर्तन ? प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

