काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पाँचथरको फिदिम–१२ घर भई हाल काठमाडौँ–७ बस्ने ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक रहेका छन्। उनले अस्ट्रिया पठाइदिने भन्दै दुई जना पीडितबाट ४ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
त्यस्तै, काभ्रेको पनौती–१२ घर भई हाल ललितपुर–२३ बस्ने ४० वर्षीय राजकुमार खड्कालाई पनि पक्राउ गरिएको छ। उनले स्पेन पठाइदिने बहानामा एक जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।
आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म विदेश पठाउने झुक्यानमा राखी अन्ततः सम्पर्कविहीन भएको पीडितहरूको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिएका छन्।

