काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा धादिङ निवासी राजु सापकोटाको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ। उहाँको असामयिक निधनप्रति पार्टी, शुभेच्छुक तथा आम नागरिकले गहिरो दुःख व्यक्त गरेका छन्।
स्वर्गीय सापकोटाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहमा सम्पन्न भएको हो। श्रद्धाञ्जली कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरू तथा ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका नेता चिरन सी, जितेन्द्र दाहाल, बालकृष्ण सिटौला, भगिरथ न्यौपानेलगायतले दिवंगत नेता सापकोटाप्रति श्रद्धाञ्जली अर्पण गरे।
श्रद्धाञ्जली सभामा नेता चिरन सीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सापकोटाको योगदानको स्मरण गर्नुभयो। उहाँले राजु सापकोटालाई निष्ठावान, इमानदार तथा लगनशील कम्युनिस्ट नेताका रूपमा चित्रण गर्दै पार्टीको समाजवादी यात्रामा उहाँ सक्रिय रूपमा लागिरहेको बताउनुभयो। उहाँको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको पनि उहाँले उल्लेख गर्नुभयो।
पार्टी संगठन निर्माण, जनसरोकारका मुद्दा तथा सामाजिक न्यायका लागि सधैं क्रियाशील रहनु भएका सापकोटाको योगदानलाई उपस्थित नेताहरूले उच्च मूल्याङ्कन गरेका थिए। सरल जीवनशैली र जनतासँगको निकट सम्बन्धका कारण उहाँ स्थानीयस्तरमा लोकप्रिय नेता हुनुहुन्थ्यो।
स्वर्गीय राजु सापकोटाका श्रीमतीसहित तीन छोरी रहेका छन्। उहाँको अन्तिम दाहसंस्कार भतिजले गरेका थिए। उहाँको निधनले परिवार, पार्टी र समग्र समाज शोकमा डुबेको छ।

