काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु पाण्डेले केही सामाजिक सञ्जालमा ‘रास्वपा जितेपछि नागरिकका घरहरू भत्काइन्छ’ भन्ने भ्रामक प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन्। उनले उक्त प्रचार पूर्णतः असत्य रहेको स्पष्ट पारे।
पाण्डेका अनुसार रास्वपाले नागरिकका निजी घर भत्काउने कुनै नीति लिएको छैन। राजनीतिक पहुँचको आडमा सम्पन्न व्यक्तिहरूले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका अवैध संरचनामाथि गरिएको कारबाहीलाई गलत ढंगले प्रस्तुत गरेर भ्रम फैलाइएको उनको भनाइ छ।
“सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो। अतिक्रमण हटाउने कामलाई नागरिकविरुद्धको कदमका रूपमा चित्रण गर्नु गलत हो,” उनले भने।
सुकुम्बासी समस्याका सन्दर्भमा बोल्दै पाण्डेले संघीय सरकारले जिम्मेवारी लिनुपर्ने रास्वपाको अडान अहिले पनि यथावत् रहेको बताए। विगतमा भूमि आयोग, सुकुम्बासी समस्या समाधान आयोगजस्ता विभिन्न निकाय गठन भए पनि ती आयोगहरूले समस्या समाधानभन्दा राजनीतिक नियुक्ति र कार्यकर्ता पोस्ने माध्यमका रूपमा काम गरेको आरोप लगाए।
उनका अनुसार जनताले तिरेको करबाट राजनीतिक संरक्षण र सुविधा वितरण गर्ने प्रवृत्तिले सुकुम्बासी समस्या झनै जटिल बनेको छ।
निर्वाचनपछि बन्ने सरकारले सुकुम्बासी नागरिकलाई राज्यको ग्यारेन्टीसहित आवासको व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै पाण्डेले न्यून आय भएका तथा रोजगारीविहीन नागरिकहरू राजधानी केन्द्रित हुनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने बताए।
संघीयताको मूल मर्म र आत्माअनुसार रोजगारी, बसोबास र सेवा–सुविधाको विकेन्द्रीकरण गर्दै व्यवहारमै कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

