काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने भएको छ। फागुन ३० देखि चैत २ सम्म सम्मेलन हुने संघले जनाएको छ ।
सम्मेलन आयोजकका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समितिको गठन गरिएको छ। समितिको सचिवालयको रूपमा गैरआवासीय नेपाली संघको मुख्य कार्यालय कार्यभार सम्हाल्नेछ। संघका अनुसार सम्मेलन तयारी क्रमशः अघि बढिरहेको छ।
एनआरएनएका अध्यक्ष डा. बद्रि केसीले भने, “गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवा नेपालीलाई नेपालसँग जोड्ने विषयमा यो महाधिवेशन केन्द्रित हुनेछ।”
उनले महाधिवेशनले गैरआवासीय नेपालीहरूको समस्या समाधानमा सरकारलाई दबाब सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। साथै, विदेशमा रहेका करिब ८० लाख नेपाली मध्ये अधिकांशले नागरिकता कायम राख्दै बसोबास गरिरहेको अवस्थामा, उनीहरूले नेपालमा निर्वाचन प्रक्रियामा मतदान गर्ने अधिकार पाउनु नैसर्गिक अधिकार भएकोमा उनले जोड दिए।
डा. केसीले परिवर्तनशील समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने अधिकार सुनिश्चित हुने कुरामा आफू विश्वस्त रहेको बताए।

